फारो आइल्यान्डको सपना समाप्त पार्दै क्रोएसिया २०२६ को विश्वकपमा छनोट

कार्तिक २९, २०८२ |विनयज्योति सापकोटा
फारो आइल्यान्डको सपना समाप्त पार्दै क्रोएसिया २०२६ को विश्वकपमा छनोट

काठमाडौं ।

क्रोएसियाले २०२६ को फिफा विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। 

गएराति भएको खेलमा पुनरागमन जित हासिल गरेपछि फारो आइल्यान्डको विश्वकपमा पुग्ने सानो सम्भावनालाई समाप्त पार्दै क्रोएसियाले विश्वकप मञ्चमा फेरि आफूलाई प्रस्तुत गर्ने भएको हो। 

क्रोएसियाको रिजेका सहरमा भएको खेलमा गेझा डेभिड टुरीले अघि बढेर गरेको प्रहार डिफ्लेक्ट भएर गोलमा परिणत हुँदा फारोले खेलमा आश्चर्यजनक अग्रता बनाएको थियो। सन् २०१८ को विश्वकप फाइनल पुगेको क्रोएसियाले त्यसको केही मिनेटमै खेलको अग्रता खोस्यो । सात मिनेटमै योष्को गभार्डियोलले उत्कृष्ट प्रहार गर्दै क्रोएसियालाई बराबरीमा फर्काए । 

यससँगै खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो। दोस्रो हाफमा घरेलु टिमले दुई गोल थप्यो। 

सन् २०२३ पछि पहिलो अन्तर्राष्ट्रिय उपस्थितिमा पेतार मुसाले नजिकैबाट गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। 

उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। इभान पेरिसिचको क्रसबाट आएको बलमा निकोलाा भ्लासिचले गोल गर्दै क्रोएसियाको जित निश्चित गरे। 

एक खेल बाँकी रहँदै विश्वकपमा पुग्दा टिम खुसी रहेको डिफेन्डर गभार्डिओलले बताएका छन्। अब यो टोली अन्तिम खेलका लागि मोंटे-नेग्रो जाँदा आरामसाथ खेल्न सक्नेछ। यद्यपि उसले सो खेलमा पनि जितको लक्ष्य राखेको छ। 

 गएरातिको जितसँगै क्रोएसिया अब दोस्रो स्थानमा रहेको चेक गणतन्त्रभन्दा छ अंकले अघि छ। चेक टोलीले प्ले-अफमा स्थान सुनिश्चित गरिसकेको छ, जबकि आफ्नो सबै खेल सकिसकेको फारो आइल्यान्ड एक अंकले पछाडि रह्यो।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।