
काठमाडौं । नेपाल पुलिस क्लबअन्तर्गतको महिला तथा पुरूष भलिबल टिमहरूको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल प्रहरी खेलकुद समिति र रूप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच गत साता प्रायोजन सम्झौता भएको थियाे ।
उक्त सम्झौता बमोजिम रूप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षको लागि प्रायोजन उपलब्ध गराउनेछ । यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरूष भलिबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धिबिक्रम शाह र रूप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिको तर्फबाट म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले हस्ताक्षर गरी सम्झौता बमोजिमका सर्तहरू पूरा गर्ने सन्दर्भमा दुबै पक्ष प्रतिबद्ध रहने व्यक्त गरे ।
सम्झौताअनुरूप हाल काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको महिला तथा पुरूषको मुख्य प्रायोजकको रूपमा रूप्से होलिडेज रहेको छ । ट्राभल एन्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रूप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ ।