
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ ।
सरकार, राजनीतिक दल, निर्वाचन आयोग लगायतका सम्बद्ध पक्षका कारण मुलुक निर्वाचनतर्फ केन्द्रित भएको समेत उहाँले बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्न सफल भएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो ।
उहाँले कृषि, पर्यटन उद्योग, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा लगानी गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनु भयो । उपसभापति अर्यालले मुलुकको आर्थिक विकासका लागि कर्मचारीतन्त्रको सुदृढिकरणमा जोड दिनुपर्ने आवश्यक्ता समेत औँल्याउनु भयो ।
उपसभापति अर्यालले कर र व्यापारका नियमहरूलाई सहज बनाउन सके मुलुकमा बाध्य लगानी भित्र्याउन सकिने समेत बताउनु भयो ।