
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले जेन-जी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गर्नुभयो ।
उहाँले विगतमा भएका त्रुटिहरु सच्याएर अघि बढने काममा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सहसंयोजक नेपालले नेपाल विभिन्न सम्पदाहरूले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्ने समेत बताउनु भयो ।
सहसंयोजक नेपालले देशको विकास गर्ने हुट्हुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।