आईसीसी पुरूष टी-२० विश्वकपको ट्रफी टुर नेपालमा पनि हुने

ट्रफी पुष २१ गतेदेखि २३ सम्म नेपालमै रहने
पुस १६, २०८२ |खेल ब्युरो
आईसीसी पुरूष टी-२० विश्वकपको ट्रफी टुर नेपालमा पनि हुने

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपको ट्रफी टुर नेपालमा पनि हुने भएको छ।

नेपाल क्रिकेट संघ-क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफी यही पुष २१ गतेदेखि २३ गतेसम्म नेपालमा रहने जानकारी दिएको हो। आईसीसीले गत पुष सुरूमा मात्रै विश्वकपको ट्रफी टुरको घोषणा गरेको थियो। क्यानकाअनुसार अर्को महिना सुरू हुने टी-२० विश्वकपको प्रचार तथा प्रवर्द्धनका लागि ट्रफी टुर नेपालमा आयोजना गर्न लागिएको हो। 

विश्वकप ट्रफी नेपाल ल्याइने भए पनि कार्यक्रम यो कहाँ-कहाँ लैजाने भन्ने उल्लेख गरिएको छैन्। विस्तृत विवरण, तालिका, स्थान तथा गतिविधिहरू भने पछि सार्वजनिक गरिने क्यानले जानकारी दिएको छ। नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । 

त्यसैगरी यसअघि अष्ट्रेलियामा आयोजना भएको टी-२० विश्वकपका लागि पनि नेपालमा ट्रफी टुरको आयोजना भएको थियो। त्यतिबेला ट्रफी सगरमाथा र भक्तपुरमा प्रदर्शन गरिएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमासमेत लगिएको थियो।