शीतलहरसँगै चिसो बढेपछि धनुषामा नेपाली सेनाको राहत अभियान

पुस १६, २०८२ |अनिल मिश्र
शीतलहरसँगै चिसो बढेपछि धनुषामा नेपाली सेनाको राहत अभियान
जनकपुर । गएको पुस ४ गतेदेखि लगातार चलेको शीतलहरसँगै चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि नेपाली सेनाले धनुषामा दाउरा र चिया वितरण गरेको छ । 

दिउँसो पनि घाम लाग्न नसकेका कारण शीतलहरसँगै दिनप्रतिदिन बढ्दै गएको अत्याधिक चिसोले जटिल अवस्था सृजना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै नेपाली सेनाले धनुषाको विभिन्न पालिकाको दलित तथा विपन्न बस्तीमा दाउरा र चिया वितरण गरेको हो । 

धनुषाको महेन्द्रनगरस्थित श्री विष्णु दल गणका टोलीले विपद्‌बाट जोगिनका लागि पूर्व तयारीका कार्यहरूअन्तर्गत क्षिरेश्वर नगरपालिका, लक्ष्मीनिया गाँउपालिका र बटेश्वर गाँउपालिकाको विभिन्न स्थानमा बुधबार दाउरा तथा चिया वितरण गरेको हो । वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा गरिएको शीतलहरबाट बचाउ कार्यक्रमअन्तर्गत अति विपन्न, दलित, मुस्लिम र मुसहर समुदायका ६ सय ५० जना प्रत्यक्ष लाभान्वित भएको नेपाली सेनाका गणपति खिलेन्द्र राज अमगाँईले जानकारी दिनुभयो । 

लगातार १३ दिनदेखि चलेको शीतलहर र चिसो सिरेटो हावाका कारण सबभन्दा प्रभावित दलित तथा विपन्न बस्तीका नागरिक प्रभावित भएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।