
बुटवल । काठमाडौं बाहिर नियमित जस्तै खेल गतिविधि हुने क्षेत्र हो- रूपन्देही ।
जहाँ स्थानीय वा प्रादेशिक मात्रै होइन राष्ट्रिय प्रतियोगिता पनि भइरहन्छन् । तर, यही रूपन्देहीको बुटवलमा सुरू गरिएको अन्तर्राष्ट्रियस्तरको उजीरसिंह खेलकुद रंगशाला वर्षौदेखि अलपत्र छ । बुटवलको भूपू सैनिक खेल मैदान जवईलाई अन्तर्राष्ट्रियस्तरको उजीरसिंह खेलकुद रंगशाला बनाउने योजना बनाएको ठ्याक्कै ८ वर्ष भयो ।
१० करोड ७६ लाख ६१ हजार ७ सय ८० रूपैयाँ लागत अनुमानमा रंगशाला निर्माणको विस्तृत अध्ययन प्रतिवेदन बनेको छ । सरकारले रंगशालामा बर्षेनि बजेट विनियोजन गर्छ । तर, रंगशाला बनाउने योजना अहिलेसम्म कागजमा मात्रै सीमित छ । रंगशाला बनाउन प्रस्ताव गरिएको साढे ४ बिघा क्षेत्रफलमध्ये १५ मिटर जग्गा जितेश्वरी सामुदायिक वनमा परेको छ ।
यही जग्गा प्राप्ति हुन नसकेपछि यति धेरै वर्ष रंगशाला निर्माणको काम अलपत्र परेको हो । गत असोज १८ मा संघीय मन्त्रिपरिषद् बैठकले वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेपछि रंगशाला ठेक्कामा गएको छ । तर, मैदानमा देखिने काम भएको छैन । यसले खेलाडी तथा खेलप्रेमीहरू रंगशाला बन्ने हो वा हैन् अन्योलमा छन् ।
बुटवल उपमहानगरपालिकाले स्थानीय सरकार गठन भएलगत्तै आर्थिक वर्ष २०७४-७५ मा खेल मैदानलाई उजीरसिंहका नामबाट स्तरोन्नति गर्ने योजना बनाएको थियो । २०७५ सालमा ५० लाख रूपैयाँ खर्चेर त्यसको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर पनि तयार गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारले रंगशालाको लागि आर्थिक वर्ष २०७६/०७७ सालदेखि निरन्तर ४ देखि ५ करोड रूपैयाँ बजेट छुट्याएको छ । चालू आर्थिक वर्षमा पनि साढे ३ करोड बजेट विनियोजन गरेको छ । तर, रंगशालाको भौतिक प्रगति नहुँदा अहिलेसम्मका सबै बजेट फ्रिज भएका छन् । यसले आफ्नै मैदानमा अन्तराष्ट्रिय खेल अभ्यास हेर्ने र खेल्ने आशा राखेका खेलाडीहरू निराश भएका हुन् ।
उजिरसिंह रंगशालाको चारैतर्फ प्याराफिट राख्ने गरी डीपीआरमा बनेको छ । साढे ४ बिघा क्षेत्रफलको यो रंगशालामा २० हजार दर्शक अट्ने क्षमताको हुने गरी डिजाइन गरिएको छ । रंगशालामा फुटबल मैदानसँगै एथ्लेटिक ट्रयाक हुनेछ । जसमा भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्वीमिङ पुललगायतका संरचना पनि बन्ने छन् ।
लुम्बिनी प्रदेश सरकारले अर्जुन, मार्क, प्रदीप जेभि बनस्थली काठमाण्डौंसँग २०८२ असार २७ गते आठ ८ करोड ५२ लाख ३२ हजार ४ सय ९९ रूपैयाँमा निर्माणको ठेक्का दिएको छ । तीन वर्षभित्र सक्ने गरी पहिलो फेजमा बाउन्ड्रि र खेलमैदान बन्ने छ । दोस्रो फेजमा बाँकी रहेको काम हुनेछ ।
उजीरसिंह रंगशालाका लागि पछिल्लो समय रूपन्देही वन कार्यालयबाट रूख कटानी भएको छ । प्रदेश सरकारले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाएपछि रंगशाला अगाडि बढ्ला कि भन्ने आशा खेलप्रेमीमा छ । बुटवलमा खेलगतिविधि बढाउन उजीरसिंह रंगशाला निर्माणको काम छिटो थालिनुपर्छ ।