एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट बिक्री

कार्तिक २८, २०८२ |खेल ब्युरो
एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट बिक्री

काठमाडौं । मंसिर १ गतेबाट सुरू हुने नेपाल प्रिमियर लिग-एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट बिक्री भएको छ । 

टिकेट बिक्री सुरू भएको २० घण्टा भित्र नै सबै टिकट बिक्री सम्पन्न भएको हो। खल्ती बाई आइएमईले दिएको जानकारी अनुसार बिक्रीका लागि राखिएका सबै १० हजार टिकट अनलाइनमार्फत बिक्री भइसकेका छन् । अब त्यो दिनका लागि गेटमा पनि फिजिकल टिकट बाँकि नरहेको खल्तीले जनाएको छ । 

पहिलो दिन साधारणतर्फ पाँच सय र भिआईपीतर्फ एक हजार टिकट मूल्य क्यानले निर्धारण गरेको छ। आइएमई डिजिटल सोलुसन्का अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार नेपाल क्रिकेट संघले दिएको क्षमता बराबरको टिकट सबै सकिएका छन् । क्यानले १० हजार टिकट बिक्री गर्ने साथै बाँकी तीन हजार सिटहरूमा भिआईपी, खेलाडी परिवार, ब्रेाडकास्टर, मिडिया र क्यानका पदाधिकारीलाई व्यवस्था गरिएको छ। 

प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौंको सामना गर्नेछ। यो खेल चार बजे सुरू हुने हुँदा फ्लड लाइटमा पनि खेलाइने छ। यो सिजनमा व्यवस्थित प्यारापिट र फ्लडलाइटको जडानले प्रतियोगितालाई आकर्षक बनाएको समर्थकले बताउँदै आएका छन्।