
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
मंगलबार आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधबार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताउनु भयो ।
उहाँकाअनुसार मंगलबार अपराह्नसम्म ३-४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जिसीले मतगणनाको गति यही अनुपातमा जारी रहेमा मंगलबार मध्यरात वा बुधबार बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम बुधबार बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको उहाँले बताउनु भयो ।
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जिसीले बताउनु भयो ।
उहाँले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिब पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताउनु भयो । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँट प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जिसीले बताउनु भयो ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १ सय २५ सिट जित्दै पहिलो दल बनेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ९ सिट जितेको छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।
समानुपातिकतर्फ समेत राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ ।