पश्चिम एसिया तनावकाे असर : आईसीसीको बोर्ड तथा विभिन्न समितिका बैठकहरू रद्द

फाल्गुन २६, २०८२ |खेल ब्युरो
पश्चिम एसिया तनावकाे असर : आईसीसीको बोर्ड तथा विभिन्न समितिका बैठकहरू रद्द

काठमाडौं । पश्चिम एसियामा जारी तनावका कारण यसै महिनाको अन्त्यमा कतारको दोहामा आयोजना गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको बोर्ड तथा विभिन्न समितिका बैठकहरू रद्द गरिएका छन् ।

ईएस-पीएन क्रिक-इन्फोका अनुसार मार्च २५ देखि २७ तारिखसम्म सञ्चालन हुने तय गरिएको बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का बोर्ड निर्देशक, प्रमुख कार्यकारी अधिकृत, विभिन्न समितिका सदस्य तथा परिषद्का उच्च पदाधिकारी सहभागी हुने कार्यक्रम थियो । तर क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेका कारण प्रत्यक्ष रूपमा बैठक आयोजना गर्न सम्भव नभएको जनाइएको छ ।

यद्यपि आईसीसीका केही महत्वपूर्ण बैठक भने आगामी केही हप्ताभित्र भर्चुअल माध्यमबाट सञ्चालन गर्ने तयारी गरिएको छ । विशेषगरी वित्त समितिसम्बन्धी बैठकहरू अनलाइन माध्यमबाट सम्पन्न गरिने बताइएको छ । प्रत्यक्ष रूपमा बैठक आयोजना गर्ने सम्भावना भने अप्रिलसम्मका लागि खुला राखिएको छ । 

त्यसका लागि हवाई मार्गहरू सामान्य अवस्थामा फर्किनु र सदस्यहरू सुरक्षित रूपमा यात्रा गर्न सक्ने वातावरण बन्नु आवश्यक हुनेछ । दोहामा आयोजना हुने भनिएको बैठकमा तीन महत्वपूर्ण विषयमाथि विस्तृत छलफल गर्ने तयारी गरिएको थियो । जसमा आईसीसीको विश्वव्यापी प्रसारण अधिकार, आगामी चार वर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका अर्थात् 'फ्युचर टुर प्रोग्राम' सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि क्रिकेटको छनोट प्रक्रिया कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्ने तयारी गरिएको थियो ।

आइसीसीले पहिलो पटक कतारमा यस्तो बैठक आयोजना गर्ने तयारी गरेको थियो । पश्चिम एसियामा देखिएको सुरक्षा संकटले अन्तर्राष्ट्रिय क्रिकेट तालिकामा पनि प्रभाव पारेको छ । अफगानिस्तान र श्रीलंकाबीच यूएईमा मार्च १३ देखि २५ तारिखसम्म सञ्चालन हुने तय गरिएको एकदिवसीय तथा टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि अनिश्चितकालका लागि स्थगित हुने सम्भावना रहेको बताइएको छ । 

साथै नेपालमा मंगलबारदेखि आयोजना हुने तालिका रहेको नेपाल, ओमान र यूएई सम्मिलित लिग 'टू' सिरिज पनि स्थगित गरिएको छ ।