
काठमाडौं । टी-२० विश्वकपको उपाधि सफलतापूर्वक रक्षा गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड- बीसीसीआईले टिमका खेलाडी, प्रशिक्षक दल र छनोटकर्तालाई १ सय ३१ करोड भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै पुरस्कार रकम घोषणा गरेको हो । बीसीसीआईले ऐतिहासिक उपलब्धिका लागि खेलाडी, प्रशिक्षक समूह तथा छनोटकर्तालाई बधाइ दिँदै आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ । आइतबार अहमदाबादमा भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । टोलीका शीर्ष तीन ब्याटर अभिषेक शर्मा, सञ्जु स्यामसन र ईशान किशनले अर्धशतक प्रहार गर्दै बलियो स्कोर बनाएका थिए । २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई दबाबमा राख्न भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।