प्रतिनिधि सभा निर्वाचन : रास्वपाको लहरले पुराना दललाई अस्तित्व जोगाउनै धौ-धौ

रास्वपाको लहरले हल्लायो राजनीति
फाल्गुन २६, २०८२ |प्रकाश बम
प्रतिनिधि सभा निर्वाचन : रास्वपाको लहरले पुराना दललाई अस्तित्व जोगाउनै धौ-धौ

काठमाडौं । २०७९ को निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो दल बनेका कांग्रेस, एमाले र नेकपा यसपटकलाई अस्तित्व जोगाउनै धौ-धौ भयो । 

अघिल्लोपटक चौथो दल बनेको रास्वपा दुई तिहाइ बहुमततर्फ अग्रसर हुँदा कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो दलमा धकेलिए । आफ्ना पुराना गढ गुमाएका यी पुराना दल कस्ता ठाउँमा, कसरी विजयी भए ?

नेपाली कांग्रेस र नेकपा एमालेका लागि यसपटकको निर्वाचनको मतपरिणामले सासै फेर्न दिएन। कांग्रेसलाई भने कर्णालीले थोरै राहत दियो। कर्णालीका १२ सिटमा कांग्रेसले ५ सिट जित्यो। २०७० सालदेखि एमालेले जित्दै आएको दैलेख १ मा वासना थापाले जित हासिल गर्दा भने अन्य प्रदेशमा आच्छुआच्छु भएको कांग्रेसलाई चौका पर्‍यो। 

सात प्रदेशमध्ये कांग्रेसले सबैभन्दा धेरै सिट जितेको कर्णालीमै हो। अघिल्लो चुनावमा कांग्रेसको भागमा यो प्रदेशमा २८ सिट भएको कोशीमा कांग्रेसले चार सिट जितेको छ । कोशीमा २०५६ बाहेक ४८ यता एमालेले जित्दै आएको इलाम १ मा ३५ वर्षीय युवा उम्मेदवार निश्कल राइ विजयी बने । 

त्यस्तै ७० देखि एमालेले जित्दै आएको पाँचथर १ मा नरेन्द्रकुमार केरुङले बाजी मार्नुभयो । सुदूरपश्चिममा तीन सिट जित्दा कांग्रेसले अछाम एक एमालेबाट खोसेको छ, जहाँ २०६४ देखि लगातार एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए । यसपटक यहाँ ७० वर्षीय भरतकुमार स्वाँर विजयी बन्नुभएको छ ।

कांग्रेसको आधार क्षेत्र मानिने मधेशका ३२ सिटमध्ये यसपटक रौतहट-२ बाट ३९ वर्षीय चिकित्सक मोहम्मद फिरदोश आलमले मात्र कांग्रेसको लाज जोगाउनुभयो । ३३ सिट रहेको बागमतीमा पनि रसुवाका मोहन आचार्यमात्र भाग्यशाली साबित हुनुभयो । २०७४ मा एमाले र माओवादीसहितको गठबन्धन हुँदा, २०७९ र यसपटक रास्वपाको लहरबाट समेत पार्टी जोगाएर रसुवाबाट आचार्यले ह्याट्रिक गर्नुभयो । 

यस्तै ३२ वर्षीय युवा योगेश गौचन थकालीले मुस्ताङ र टेकबहादुर गुरुङले मनाङबाट जितेर गण्डकीमा कांग्रेसलाई राहत महसुस गराउनुभयो । कुल १८ सिट जितेको कांग्रेसका १२ नयाँ अनुहार संसद प्रवेश गर्दैछन् । प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको एमालेले ७ प्रदेशमध्ये कोशीमा सर्वाधिक चार सिट जितेर केही राहत महसुस गर्यो । 

सुदुरपश्चिममा ३, कर्णाली र लुम्बिनीमा एक-एक सिटमै चित्त बुझाएको एमालेले मधेश, बागमती र गण्डकीमा खातासमेत खोल्न सकेन । एमालेबाट निर्वाचित हुने ९ जनामध्ये ताप्लेजुङ्बाट ३८ वर्षका युवा क्षितिज थेवे र बझाङ्बाट ऐन महर पहिलो पटक संसद प्रवेश गरेका छन् । 

बझाङमा अघिल्लो पटक एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी हुनुभएको थियो। भर्खरै जसपा त्यागेर एमाले प्रवेश गर्नुभएका मोहम्मद इस्तियाक राइले बाँके २ मा जित हासिल गर्नुभएको छ, जहाँ अघिल्लो पटक राप्रपा विजयी भएको थियो। बाँके २ कांग्रेसका सुशील कोइरालाले २ पटक चुनाव जितेको क्षेत्र पनि हो । 

एमालेबाट चुनाव जित्ने ९ जनामा ३ जना नयाँ अनुहार हुन । नेकपा ७ सिटमा सीमित हुँदा ५ जना आफ्नै गढमा विजयी भएका छन् भने धनुषा १ जनता समाजवादी र सिन्धुपाल्चोक २ कांग्रेसबाट खोसेको छ । धनुषा १ मा मातृका यादव र सिन्धुपाल्चोक २ मा युवराज दुलाल विजयी हुनुभएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।