
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभा र निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। परिषद्को संघ संस्था समन्वय शाखाले पत्र जारी गर्दै परिषद्को स्वीकृति नभएसम्म साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।
परिषद्ले एन्फालाई यसअघि प्रचलित कानुनअनुसार साधारण सभा सञ्चालन गर्न ११ बुँदे निर्देशनसहित पत्राचार गरेको जनाएको छ। तर परिषद्सँग आवश्यक समन्वय नगरी पुनः निर्वाचन तालिका सार्वजनिक गरिएको जानकारी विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त भएको भन्दै परिषद्ले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
एन्फाले भने निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको थियो। एन्फा निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार फागुन २२ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली प्रकाशन गर्ने, फागुन २८ गतेसम्म उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दाबी गर्ने अन्तिम मिति तोकिएको थियो। त्यस्तै फागुन २९ गते पुनरावेदनमाथि समितिको निर्णय गर्ने र फागुन ३० गते दाबी-विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख गरिएको थियो। सो तालिका अनुसार चैत १३ गते मतदान गर्ने मिति तय गरिएको थियो।
परिषद्ले भने उक्त प्रक्रिया अघि बढाउँदा आफूसँग समन्वय नगरेको र निर्देशनको अवज्ञा गरिएको भन्दै चासो व्यक्त गरेको छ। एन्फाका अध्यक्षसहित केही केन्द्रीय सदस्यबाट पनि परिषद्मा उजुरी परेको उल्लेख गर्दै परिषद्ले यस्तो गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा तथा फुटबल खेलको विकासमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७-ग तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार परिषद्को स्वीकृति नभएसम्म एन्फाको साधारण सभा र निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न निर्देशन दिइएको परिषद्ले जनाएको छ।