
चितवन । चितवनमा एक सय २९ जनाले खाली मतपत्रमा मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दुईवटा निर्वाचन क्षेत्रमा खाली मतपत्र फेला परेको छ । क्षेत्र नं.२ मा ७८ वटा मतपत्र खाली फेला परेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयाे । उहाँकाअनुसार क्षेत्र नं.३ मा ५१ वटा खाली मतपत्र फेला परेको छ । यी सबै मत बदर भएको कार्कीले बताउनुभयाे ।
चितवनमा तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल ३.४९ प्रतिशत अर्थात् ९ हजार ८ सय ५४ मत बदर भएको छ । त्यसमध्ये सबैभन्दा धेरै एकभन्दा धेरै चिन्हमा मतदान गर्दा बदर भएको छ । यसरी मतदान गरेर सबैभन्दा धेरै ८ हजार ९ सय ६५ मत बदर भएको छ ।
यस्तै मतपत्रमा औठा छाप लगाउँदा ४ सय ५० मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ ९ हजार ८ सय ५४ मत बदर भएको निर्वाचन कार्यालय चितवनका प्रमुख कार्कीले जानकारी दिनुभयाे ।
५७ जना उम्मेदवारको जमानत जफत
चितवनमा ५७ जना उम्मेदवारको जमानत जफत भएको छ । चितवन क्षेत्र नं.२ र ३ मा समान २१-२१ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार क्षेत्र नं.१ म १५ जना उम्मेदवाको जमानत जफत भएको छ ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा (एमाले)ले जमानत जोगाएको हो । १८ जनाले उम्मेदवारी दिएकोमा १५ जनाले जमानत जोगाउन सकेनन् । जमानत जोगाएका उम्मेदवारले धरौटी रकम फिर्ताका लागि निवेदन दिए तत्काल उक्त रकम फिर्ता गरिने कार्कीले बताउनुभयाे ।
क्षेत्र नं.२ मा रास्वपा र नेपाली कांग्रेस, क्षेत्र नं.३ मा रास्वपा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जमानत जोगाएको थियो ।