
काठमाडौं । पश्चिम एसियामा बढेको सैन्य संघर्ष र तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजको निरन्तर अवरोधका कारण विश्वभरमै ऊर्जा आपूर्ति शृंखला प्रभावित हुन थालेको छ ।
युद्धका कारण भारत, पाकिस्तान, जापानसहित एसियाली र युरोपेली मुलुकहरुमा इन्धनमा मूल्य वृद्धि भएको छ भने इन्धन संकटको त्रासका कारण पेट्रोल पम्पहरुमा लामो लाइन लाग्न थालेको छ । केही देशले इन्धन कटौतीको उपायसमेत अपनाउन थालेका छन् ।
वैश्विक तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज बन्द हुँदा कच्चा तेलको मूल्यमा २५ प्रतिशत वृद्धि भएको छ भने स्थितिको सामना गर्न विभिन्न मुलुकहरुले इन्धनको सीमा तोक्नेदेखि सरकारी कार्यदिनमा कटौतीसमेत गर्न थालेका छन् । पाकिस्तानमा सरकारले पेट्रोल र डिजेलको मूल्यमा ५५ रुपैयाँले वृद्धि गरेको छ, जुन अहिलेसम्मकै उच्च हो ।
यस्तै, इन्धनको प्रयोग घटाउन विद्यालय दुई साताका लागि बन्दको घोषणा गरिएको छ भने सरकारी कार्यालय चार दिनमा सीमित गरिएको छ । विश्वविद्यालयहरूलाई पनि अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई स्थिर बनाउन कठिन निर्णय लिएको बताउनुभएको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले पनि ऊर्जा बचत र इन्धन प्रयोग घटाउने प्रयासस्वरुप सातामा चार दिनमात्र सरकारी कार्यालय खोल्ने आदेश कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकारी निकायहरूलाई विद्युत् र इन्धन खपत १० देखि २० प्रतिशतसम्म घटाउन निर्देशन दिनुभएको छ ।
भारतमा पनि प्रशोधन कम्पनीहरू भारतीय आयल कर्पोरेसन-आईओसी, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियमले एक साथ ७ प्रतिशतले मूल्य वृद्धि गरेका छन् । यस्तै, इन्धन संकटको त्रासमा पेट्रोल पम्पहरूमा लामो लाइन लाग्न थालेपछि बंगलादेशमा कारका लागि दैनिक १० र मोटरसाइकलका लागि २ लिटरको सीमा तोकिएको छ ।
श्रीलंकामा इन्धनको मूल्यमा ८ प्रतिशत वृद्धि गरिए पनि सरकारले अप्रिलसम्म मौज्दात भएको जनाएको छ । यस्तै, पोल्यान्डमा पेट्रोल पम्पमा लामो लाइन देखिन थालेको छ भने एक सातामा पेट्रोलको मूल्यमा १४ प्रतिशत वृद्धि भएको छ । भियतनाममा पनि इन्धन संकट बढ्दै गएपछि सरकारले जैविक इन्धन र सार्वजनिक यातायात प्रयोगमा जोड दिन आह्वान गरेको छ ।
थाइल्यान्डमा पनि पेट्रोल पम्पहरुमा लामो लाइन लाग्न थालेपछि सरकारले अनावश्यक भण्डारण नगर्न आह्वान गरेको छ । जापानमा सोमबार इन्धनमा २५ प्रतिशत वृद्धि गरिएको छ । यो वृद्धि सन् २०२२ यताकै उच्च हो । जापानी प्रधानमन्त्री सनेइ ताकाइचीले सोमबार संसद्मा बोल्दै मूल्य वृद्धिलाई ध्यानमा राख्दै सरकारले आगामी सातादेखि उपयुक्त कदम चालिने प्रतिबद्धता जनाउनुभएको छ ।
अमेरिकामा पनि इन्धनमा मूल्य वृद्धि भएको छ । पश्चिम अस्ट्रेलियामा किसानहरूलाई डिजेल वितरण सीमित गर्न थालिएको छ । सोमबार आकस्मिक रुपमा बसेको जी सेभेन समूहका राष्ट्रहरुको बैठकले पनि इन्धनको मूल्यवृद्धिको सामना गर्न आवश्यक उपाय अपनाउने प्रतिबद्धता जनाएको थियो ।