एन्फा-खेलाडी संघ विवाद गहिरिँदै, मुख्यालयमा तालाबन्दीपछि आरोप-प्रत्यारोप

फाल्गुन २५, २०८२ |खेल ब्युरो
एन्फा-खेलाडी संघ विवाद गहिरिँदै, मुख्यालयमा तालाबन्दीपछि आरोप-प्रत्यारोप

काठमाडौं । अखिल नेपाल फुटबल संघ- एन्फाले आफ्नो मुख्यालयमा खेलाडीद्वारा गरिएको तालाबन्दीका कारण कुनै क्षति भए खेलाडी संघ जिम्मेवार हुने बताउँदै विज्ञप्ति जारी गरेको छ। 

एन्फाले साेमबार सार्वजनिक गरेको विज्ञप्तिमा खेलाडी राखेका विषय सम्बोधन भइरहेको बताउँदै पूर्वजानकारी विना नै तालाबन्दी गरेकोमा असन्तुष्टि व्यक्त गरेको छ। एन्फाले खेलाडी संघसँग भएको पहिलेका वार्ताका अनुरुप 'ए' डिभिजन लिग सञ्चालनको विषयमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। 

एन्फाले 'ए' डिभिजन लिग र राष्ट्रिय लिगमा सहभागी क्लब तथा खेलाडी संघसँग निरन्तर समन्वय भइरहेको बताएको छ। निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि एडिभिजन लिग सुरु गर्ने तयारी रहेको एन्फाको भनाइ छ। तर तालाबन्दीका कारण दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकाले काम अघि बढाउन कठिन भएको संघले जनाएको छ। 

उसले, तालाबन्दीका कारण राष्ट्रिय महिला लिग, उमेर समूहको लिग लगायत घरेलु प्रतियोगिताका गतिविधि प्रभावित भएको र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा समेत असर पर्ने जनाएको छ। एन्फाले, आफ्नै सदस्य संस्था नेपाल फुटबल खेलाडी संघले पूर्व जानकारी वा संवाद बिना मुख्यालयमा तालाबन्दी गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो। 

एन्फाले वार्ताको ढोका खुला राख्दा-राख्दै गरिएको निषेधात्मक कदमले फुटबल गतिविधिमा असर पर्ने जनाएको छ। खेलाडी कल्याण कोषमा रकम जम्मा गर्ने खेलाडीसँगको सम्झौताको विषयमा पनि एन्फा प्रतिबद्ध रहेको बताएको छ। खेलाडीको पुरस्कार तथा तलब भत्ताका विषयमा भने एन्फाले स्पष्ट जवाफ दिएको छैन। 

उसले अहिलेको कार्यसमितिले घोषणा गरेका पुरस्कार मात्रै दिने र पहिलेको विषयमा आन्तरिक स्रोतबाट भुक्तानी गर्ने भन्दै पन्छिएको छ। यता खेलाडी स‌ंघले भने लामो समयदेखि खेलकुद आयोजनालाई लिएर एन्फाविरुद्ध सडक संघर्ष गरिरहेको छ। अर्को तर्फ एन्फाले अहिले चुनावको घोषणा गरेसँगै राष्ट्रिय खेलकुद परिषद्ले पुन एक पटक एन्फाले घोषणा गरेको निर्वाचन अवैधानिक भएको भन्दै स्थगित गर्न निर्देशन दिएको छ।