राष्ट्रिय लिगमा एपीएफकाे अपराजित यात्रा कायमै

फाल्गुन २५, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिगमा एपीएफकाे अपराजित यात्रा कायमै

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा एपीएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ । 

प्लानिङ ब्वाेईज युनाईटेडविरूद्ध १-१ को बराबरी खेल्दै एपीएफले आफ्नो अपराजित यात्रा कायम राखेको हो । दशरथ रंगशालामा साेमबार भएको दिनको दोस्रो खेलमा एपीएफले आफ्नो तेस्रो बराबरी खेलेको हो । 

खेलको पहिलो मिनेटबाटै एपीएफ हावी देखिएको थियो । २१औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २३औं मिनेटमा एपीएफका कप्तान युवराज लामाले डेडलक टोडे । प्लानिङका गोलरक्षक योगेश धिमाल आफ्नो स्थानबाट अगाडि आएको फाईदा उठाउँदै युवराजले उत्कृष्ट चिप गोल गरे । 

३४औं मिनेटमा प्रदीप लामाको पासमा अनिश घर्ति क्षेत्रिको भली प्रहार विफल हुँदा एपीएफले अग्रता फराकिलो बनाउने अवसर गुमायो । त्यसलगत्तै, प्लानिङका कप्तान प्रताप सिंह राईको प्रहार गोलरक्षक अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै एपीएफको अग्रता जोगाइ राखे । 

पहिलो हाफमा १-० ले पछि परेको सन्जित सिंहको टोली दोस्रो हाफमा भने बराबरी फर्कायो । ६२औं मिनेटमा प्लानिङका एलेक्स विलियनले गोल गर्दै प्लानिङको एक अकं सुनिश्चित गरे । बराबरी हात पारेता पनि एपीएफले लिगमा आफ्नो शीर्षस्थान भने कायम राखेको छ । 

विभागीय टोलीले ९ खेल खेलदै गर्दा ६ जित र दुई बराबरी खेलेको छ । यता, प्लानिङको भने यो चौथो बराबरी हो । १० खेल खेलीसकेको प्लानिङले भने ५ जित, ४ बराबरीसहित एक खेलमा हार व्यहोरेको छ । दशरथ रंगशालामा आजै भएको दिनको पहिलो खेलमा भने फ्रन्डस् क्लबले श्री भगवति क्लबलाई २-० ले पराजित गरेको छ ।