
काठमाडौं । शरद भेषवाकर नेपाली घरेलु क्रिकेट र फ्रेन्चाइज प्रतियोगिताका सफल कप्तान हुन् भने अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्मेवार फिनिसर ।
मध्यक्रमका दायाँहाते ब्याटरका रूपमा नेपाली क्रिकेटमा उनले झण्डै दुई दशक बिताए । सन् २००४ देखि २०२२ सम्म उनी नेपाली क्रिकेटमा रमाए । उनकै पालामा नेपाली क्रिकेट डिभिजन फाइभबाट एकदिवसीय मान्यतासम्म पुग्यो । उतारचढावका बाबजुद नियमित उपलब्धि हासिल गरेको नेपाली टिममा उनको स्थान सधैा शान्त खेलाडीका रूपमा रहृयो । उनै शरदले आज क्रिकेटबाट सन्यास लिएका छन्।
कुरा हो टी-२० विश्वकप ग्लोबल छनोट २०१३ को, १६ टिम सहभागी छनोटबाट ६ देश विश्वकपमा पुग्दै थिए । त्यसका लागि क्वार्टरफाइनलको खेलमा हङकङ जित नजिक पुगिसकेको थियो । अन्तिम ओभरमा नेपाललाई १३ रन आवश्यक थियो । त्यो अवस्थामा शरदले एक छक्का र एक चौका प्रहार गरेर नेपालको जित निश्चित गरिदिए र, नेपालले विश्वकप खेल्ने पक्का भयो ।
सोही छनोटको सेमिफाइनलमा अफगानिस्तनसाग पराजित भएपछि तेस्रो स्थानको खेलका लागि नेपाल र यूएई भेट भए । नेपालले एक सय ३२ रनको लक्ष्य पायो । ५ विकेट गुमाउँदा नेपालको खातामा ९७ रन मात्रै थियो । शरदले २९ बलमा ६ बाउन्ड्री लगाएर आफ्नो फिनिसरको छविलाई विस्तार गरे ।
सोही प्रतियोगितामा केन्याविरूद्ध अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा लगातार तीन छक्का प्रहार गरेर उनले इतिहासकै ठूलो एक सय ८३ रन पछ्याउन नेपाललाई सफल गराएका थिए । टी-२० क्रिकेटमा शतक बनाउने नेपाली खेलाडी निकै कम छन्, त्यसैमा पर्छन् शरद । सन् २०१० फिजीविरूद्ध शतक प्रहार गर्दै उनी अन्तर्राष्ट्रिय खेलमा सय रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका थिए ।
नेपाली क्रिकेट डिभिजन फाइभबाट एक दिवसीय मान्यता पाउँदासम्मको महत्वपूर्ण कालखण्डका दिग्गज खेलाडी हुन् शरद । नेपाली क्रिकेट अहिले जस्तो अवस्थामा आइपुगेको छ, यहाँसम्म ल्याउन शरदले जीवनको महत्वपूर्ण र ऊर्जावान् समय खर्च गरेका छन् । उनले सिनियर टिममा डेब्यु गर्दा नेपाली क्रिकेट अहिलेजस्तो लोकप्रिय र ग्लामरले भरिएको थिएन । न नियमित तलब, न धेरै भत्ता, न कुनै ठूलो अपेक्षा नै अहिलेका युवा खेलाडी उनलाई प्रेरणाको स्रोत मान्छन् ।
सन् १९८८ मा दुबईमा उनको जन्म भयो । १९९५ मा परिवार यूएईबाट फर्किएपछि उनी नेपालमा बसोबास गर्न थालेका हुन् । सन् २००४ देखि दुई दशक उमेर समूहदेखि सिनियर टिमसम्म सक्रिय उनले २०७४ सालमा नायिका निशा अधिकारीसँग विहे गरे । उनका एक सन्तान छन् ।
उमेर समूहको क्रिकेटमा महत्वपूर्ण इनिङसहरू खेलेका शरदले कतारविरूद्ध शतक प्रहार गरेका छन् । यू-१९ विश्वकपमा नेपालले आईसीसीको पूर्ण सदस्य देशहरू दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराउँदा शरद त्यही टिमका सदस्य थिए । लगाव, समर्पण, शान्त स्वभाव, आफ्नो भूमिकामा स्पष्टता उनको खास परिचय हो । उनी क्रिकेटभित्र जहिल्यै आलोचनाभन्दा माथि रहे ।
शरदसँगै लामोसमय खेलेका पारख खड्का, ज्ञानेन्द्र मल्ल साथै बाँकी खेलाडी र समर्थकले उनको खेल करियरलाई सम्मानसाथ सम्झिएका छन्। सन् २०१४ मा नेपालले विश्वकप खेल्दा शरदले टी-२० आई डेब्यु गरे । उनले २० अन्तर्राष्ट्रिय खेलमा तीन सय २५ रन बनाएका छन् ।
आवश्यकताअनुसार स्पिन बलिङ गर्ने शरद तीन वर्षअघि आयरल्यान्डविरूद्ध खेलेयता नेपाली टिमबाहिर छन् । सन् २०१८ मा नेपालका ११ खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा एकैपटक डेब्यु गर्दा शरद पनि सामेल थिए । त्यसपछि सन् २०२१ मा ओमानविरुद्धको खेल नै उनको अन्तिम एक दिवसीय खेल रहृयो । उनले चार एकदिवसीय क्रिकेटमा ६६ रन बनाएका छन् भने २ विकेट लिएका छन् ।
पछिल्ला तीन वर्षमा उनले आफूलाई खेलाडीबाट खेल विश्लेषक र कमेन्टेटरमा रूपान्तरण गरेका छन् । सँगसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्यासको उपयुक्त अवसर पनि खोजी गर्दै थिए । नेपाली क्रिकेटमा उनको योगदानको सम्मान गर्दै नेपाल क्रिकेट संघ क्यानले उनलाई हङकङ सिक्सेजको लागि नेपाली टिममा समावेश गरेको थियो । यो प्रतियोगिताको अन्तिम खेलमा युएईसाग खेल्दै शरदले बल र ब्याट थन्क्याएका छन् । उनले भनेका छन - 'म बिदा चाहन्छु, नेपाली क्रिकेट र सबैलाई धन्यवाद'