
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटबाट लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी बनेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
घरेलु क्रिकेटमा क्याप्टेन कुल उपनामले परिचित उनले आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। शरदले सन् २०१४ मा नेपाली क्रिकेट टिमले टी-२० विश्वकप खेल्दा टी-२० आई अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यसबीच उनले २० अन्तर्राष्ट्रिय खेलमा तीन सय २५ रन बनाएका छन्।
उनी नेपाली टिममा आवश्यकता अनुसार स्पिन बलिङ पनि गर्छन्। उनले सन् २०२२ मा आयरल्यान्डविरूद्ध खेलेयता अन्तर्राष्ट्रिय टी-२० खेलेनन्। त्यसयता उनी टिमबाहिर छन्। सन् २०१८ मा नेपालका ११ खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दा शरद पनि सामेल थिए। त्यसपछि सन् २०२१ मा ओमानविरूद्धको खेल नै उनको अन्तिम एक दिवसीय खेल रहृयो। उनले चार एकदिवसीय क्रिकेटमा ६६ रन बनानुका साथै २ विकेट लिएका थिए।
पछिल्ला तीन वर्ष उनी नेपाली टिमबाहिर रहे। उनले अहिले आफूलाई खेलाडीबाट खेल विश्लेषक र कमेन्टेटरमा रूपान्तरण गरेका छन्। उनले युट्युबको भिडियो कन्टेन्टमा आफ्नो केरियर अघि बढाउने कुरा सार्वजनिक गर्दै आइरहेका पनि छन्। पछिल्लो समय नेपाली क्रिकेटमा उनको योगदानको सम्मान गर्दै नेपाल क्रिकेट संघ क्यानले उनलाई हङकङ सिक्सेजको लागि नेपाली टिममा समावेश गरेको थियो।