
काठमाडौं । बाउल लिगको अन्तिम खेलमा यूएईसँग पराजित भएपछि हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएको छ ।
मिसन रोड ग्राउन्डमा आइतबार सम्पन्न खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको हो । १६ टोली सहभागी प्रतियोगितामा नेपालले एक मात्र जित हात पार्ने क्रममा भारतलाई पराजित गरेको थियो । नेपालले पुछारबाट दोस्रो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको हो ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । उसका लागि कप्तान खालिद शाहले ४ सगिर खानले २ मोहम्मद अरफानले १६ र र जाहिद अलीले ३० रनको योगदान दिए । निलांस केसवानीले १० बलमा ५० रनको सानदार अर्धशतकीय योगदान दिए । उनी रनआउट भएका थिए । मोहम्मद फारूक २४ रनमा नटआउट रहे ।
नेपालका लागि राशिद खानले २ तथा रुपेश सिंहले १ विकेट हात पारे । जवाफमा नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । राशिदले ६ र लोकेश बमले ७ रन मात्र बनाउन सके । मोहम्मद आदिल आदलमले ३२ रन जोडे । कप्तान सन्दीप जोरा ३१ र वसिर अहमद ८ रनमा नटआउट रहे । यूएईका फारूकले २ तथा निलांस र सगिरले १-१ विकेट हात पारे ।