दुर्गम पहाडी गाउँमा कालोपत्रे सडक पुग्दा स्थानीय खुसी, जीवनस्तरमा परिवर्तन हुने आशा

कार्तिक २३, २०८२ |नवीन पौडेल
दुर्गम पहाडी गाउँमा कालोपत्रे सडक पुग्दा स्थानीय खुसी, जीवनस्तरमा परिवर्तन हुने आशा

नवलपरासी । सुगम जिल्ला भनिए पनि कुनै समय पूर्वी नवलपरासीको पहाडी भेगका नागरिकलाई सदरमुकाम वा पूर्वपश्चिम राजमार्ग क्षेत्रका बजारसम्म आउन निकै सास्ती थियो । 

मोटरबाटोको सुविधा नहुँदा पहाडी क्षेत्रको उत्पादन अदुवा, सुन्तला, अमृसोले बजार पाउन सकेको थिएन । तर अब भने अवस्था फेरिएको छ । कालीगण्डकी कोरिडोरको निर्माणपछि भने पूर्वी नवलपरासीको बुलिङटार, हुप्सेकोटलगायतका पहाडी भेगका गाउँपालिकाका नागरिकको जीवनस्तर नै फेरिएको छ ।

कालिगण्डकी करिडोरको सडक निर्माणले पूर्वी नवलपरासीको पहाडी भेगका बासिन्दालाई सदरमुकाम कावासोती र जिल्लाका अरू मुख्य बजारमा सहज पहुँच पुगेको छ । सडक नहुँदा घण्टौं हिँडेर सदरमुकाम र पूर्व-पश्चिम राजमार्गको मुख्य बजार गैंडाकोट, दलदले आउनुपर्ने बाध्यतामा रहेका स्थानीयलाई करिडोर निर्माणले सहज भएको हो । 

सामान्य किनमेलदेखि, औषधि उपचारका लागि बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यतामा रहेका स्थानीयलाई करिडोर सञ्चालनमा आएपछि निकै सहज भएको छ । सदरमुकाम आएर अर्को दिन फर्कनुपर्ने बाध्यतासमेत हटेको छ । २०६४ सालमा सुरू भएको यो सडकको पूर्वी नवलपरासी खण्ड निर्माण सम्पन्न हुन ढिलाइ भए पनि अहिले भने दुर्गम बस्तीमा यसले विकासको ढोका खोलिदिएको छ । 

करिडोर अन्तर्गत गैंडाकोटदेखि पाल्पाको पिपलडाँडासम्मको १ सय ३१ दशमलव ७ किलोमिटर सडक हस्तान्तरण भएपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्र, पाल्पा र तनहुँका बासिन्दालाई सहज भएको छ । करिडोर निमार्णपछि पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएको छ । 

जसका कारण कृषि क्षेत्रमा स्थानीयको आकर्षण बढेको छ । दुर्गम पहाडी गाउँमा कालोपत्रे सडक पुग्दा स्थानीय खुसी छन् । अब यस क्षेत्रको उत्पादनलाई बजार पुर्‍याउन योजना बनाएर काम गरेमा आर्थिकरूपमा सबल हुन सकिने जनप्रतिनिधि बताउँछन् ।

पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालिगण्डकी नदीको खोंचैखोंच मुस्ताङको कोराला नाकासम्म पुगिन्छ । यो बीचमा पुराना बस्ती, ऐतिहासिक र प्राकृतिक सम्पदाको खानी छ । तर , सडक पहुँचको अभावमा सबै ओझेलमा परेका थिए । अहिले करिडोर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक सामाजिक सामाजिक विकासमा टेवा पुगेको छ । यो करिडोरलाई पर्यटकीय क्षेत्रसँगै कृषि उत्पादनलाई बजारसम्म ल्याउन योजना बनाएर लाग्न आवश्यक छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।