बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा

कार्तिक २२, २०८२ |खेल ब्युरो
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले शनिबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । सेन्ट्रल मिडफिल्डर दिपेश गुरूङ पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएका छन् भने आदित्य शाक्यले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विमल पाण्डे र कृतिशरत्न छुन्जु टिमबाट बाहिरिएका छन् ।

गत भदौमा घरेलु मैदानमा भएको बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा रहेका आदित्यले एसियन कप छनोटअन्तर्गत भियतनाम भ्रमणका क्रममा टिममा स्थान बनाउन सकेका थिएनन् । दिपेशले सेप्टेम्बरमै ताजकिस्तानमा सम्पन्न यू-२३ एसियन कप छनोट प्रतियोगिता खेलेका थिए ।

नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ । एसियन कपमा छनोट हुने सम्भावना समाप्त भइसकेको नेपालले छनोट प्रतियोगितामा दुई खेल खेल्न बाँकी छ ।