जेन-जी आन्दोलनमा दुई हजार ६५ सरकारी, व्यावसायिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा क्षति भएको आयोगको तथ्यांक

प्रतिवेदन यसैसाता अर्थ मन्त्रालयमा बुझाइने
कार्तिक २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा दुई हजार ६५ सरकारी, व्यावसायिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा क्षति भएको आयोगको तथ्यांक

काठमाडौं । राष्ट्रिय योजना आयोगले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन अन्तिम चरणमा पुर्याएको छ ।

योजना आयोगले अहिलेसम्म दुई हजार ६५ वटा सार्वजनिक निकाय, व्यावसायिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा क्षति भएको विवरण संकलन गरेको छ । प्रतिवेदन यसै हप्ता अर्थ मन्त्रालयमा बुझाउने तयारी रहेको आयोगले जनाएको छ । पूर्ण प्रतिवेदनमा नष्ट भएको सम्पत्तिको विवरण एकिन हुने छ । सोही अनुसार सरकारले पुनर्स्थापनाको कार्यक्रम पनि ल्याउने छ ।

गत ५ असोजको मन्त्रिपरिषद् बैठकले आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले क्षति मूल्यांकन र पुनर्निर्माण योजना तयार गर्ने कार्यादेश रहेको छ । तथ्यांक संकलनमा एकरूपता ल्याउनका लागि अनलाइन पोर्टल तयार पारिएको छ भने स्थानीय तहसम्मले क्षतिको विवरण प्रविष्ठ गर्न सक्ने बनाइएको छ । 

४१ जिल्लामा ३८ वटा समूहले लगत संकलन गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भौतिकतर्फ मात्रै ४८ अर्ब र बाँकी ८८ अर्बको क्षति भएको जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.