
झापा । विभागीय टोली नेपाल एपीएफ क्लब झापाको दुधे रङ्गशामा जारी प्रथम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो । अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
आर्मीका चन्द्र भण्डारीले ६३औं मिनेटमा गोल गरेकी थिइन् भने एपीएफकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् । टाईब्रेकरमा एपीएफका लागी निशा थोकर, सविता राना मगर, अनिता बस्नेत, र रस्मी कुमारी घिसिङले गोल गर्दा रेनुका हमालको प्रहार विपक्षी किपरले रोकेकी थिइन् ।
यस्तै आर्मीका लागी विमला विक, अनिता लम्जेलले मात्र गोल गरेका थिए । पुलिस र एपीएफबीचको फाइनल खेल सोमबार हुनेछ । विजेताले नगद १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैया हात पार्ने छन् ।