निर्माण मजदुरदेखि यूएफसीको ढोकासम्म रविन्द्र ढाँटको संघर्षपूर्ण यात्रा

जेष्ठ १५, २०८३ |सुवास रोकाया
निर्माण मजदुरदेखि यूएफसीको ढोकासम्म रविन्द्र ढाँटको संघर्षपूर्ण यात्रा

काठमाडौं । बझाङको गोठदेखि एमएमए-एमएमएको अन्तर्राष्ट्रिय रिङसम्म रविन्द्र ढाँटको यात्रा संघर्ष, धैर्य र आत्मविश्वासले भरिपूर्ण छ । 

'रोड टू यूएफसी' सिजन-५ को सेमिफाइनलमा प्रवेश गरेपछि यूएफसीबाट मात्र २ जित टाढा रहेका रविन्द्रको कथा आफैंमा फिल्मी छ । रविन्द्र कठिन आर्थिक अवस्था, विदेशमा मजदुरी जीवन र विविध अवरोधलाई पार गर्दै यो स्थानमा आइपुगेका हुन् । प्रशिक्षक दिविज पिया लामाको मार्गदर्शन उनको करिअरको निर्णायक मोड मानिन्छ ।

अब रविन्द्र फाइनल प्रवेशका लागि अस्ट्रेलियाका कासिब मर्डोकसँग भिड्ने छन् । शून्यबाट उठेर सफलताको चुचुरो छुने रवीन्द्र ढाँटको कहानी कुनै फिल्मको कथाभन्दा कम छैन । बझाङको गोठमा हुर्किएका उनी अहिले अन्तर्राष्ट्रिय रिङमा नेपालको नाम चम्काउँदैछन् । 

एक दशकअघि भारतमा मजदुरी गरिरहेका रवीन्द्र अहिले भने मिक्स मार्सल आर्टको सर्वश्रेष्ठ प्रतियोगिता अल्टिमेट फाइटिङ च्याम्पियनसिप यूएफसी नजिकै छन् । बिहीबार साँझ मकाउको ग्यालेक्सी एरिनामा नेपालको झन्डा फहरायो । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले 'रोड टू यूएफसी' सिजन-५ को ब्यान्टमवेट स्पर्धाको क्लार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई नकआउट गरे ।

यो जितसँगै रविन्द्रले 'रोड टू यूएफसी' मा सफलता पाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाए । पहिलो राउन्डमा दुवै खेलाडीबीच प्रतिस्पर्धात्मक भिडन्त देखियो । दोस्रो राउन्डमा भने रविन्द्रले खेलको मोड नै परिवर्तन गरे । उनले उत्कृष्ट ग्र्याप्लिङ कौशल देखाउँदै अलिन्टोजोनलाई म्याटमा लडाउन सफल भए । 

त्यसपछि 'माउन्ट' पोजिसनमा पुगेका रविन्द्रले उच्चस्तरको पोजिसनल कन्ट्रोल देखाउँदै लगातार ग्राउन्ड एन्ड पाउन्ड गरेपछि रेफ्रिले दोस्रो राउन्डको ४ मिनेट ३७ सेकेन्डमा खेल रोक्दै टेक्निकल नकआउटद्वारा रविन्द्रलाई विजेता घोषित गरे । व्यावसायिक करिअरमा रविन्द्रले १० जित र १ हारको सामना गरेका छन् ।

हङकङ र मकाउमा बसोबास गर्ने सयौं नेपाली राष्ट्रिय झन्डासहित रविन्द्रलाई समर्थन गर्न रंगशालामा पुगेका थिए । रविन्द्रलाई विजेता घोषणा गरिँदा रंगशाला उत्साहले भरियो । 'बाजाङको बाघ' भनेर चिनिने ढाँटका लागि देशभरबाट बधाइको वर्षा भयो । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, नेपाल क्रिकेट संघ- क्यानका सचिव पारस खड्का, कलाकार, राजनीतिज्ञ र आम नागरिक सबैले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिए । खेलपछि रविन्द्र जय नेपाल, जय हनुमान भन्दै गर्जिए । र, त्यसको प्रत्यूत्तरमा सयौं दर्शकले एकै स्वरमा जय नेपाल भन्दा ग्यालेक्सी एरिनामा गुञ्जयमान बनेको थियो । 

रविन्द्रले सेमिफाइनलमा अब अस्ट्रेलियाका कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्ने छन् । अर्को सेमिफाइनलमा जापानका रियो ताजिमा र भारतका चुनरेङ कोरेनबीच प्रतिस्पर्धा हुनेछ । तर, प्रतिस्पर्धाको आधिकारिक मिति भने तय गरिएको छैन ।

निर्माण मजदुरबाट सुरू भएको जीवनयात्राका क्रममा प्रशिक्षक दिविज पिया लामालाई भेटेपछि उनको जीवनले कोल्टे फेर्‍यो । लामाको संरक्षण र मार्गदर्शनमा रविन्द्रले इतिहास रचिरहेका छन् । सुदूरपश्चिम नेपालको बझाङमा 'कसैले चिनोस्, सम्मान गरोस्' भन्ने सपनासहित हुर्किएका रविन्द्रको औपचारिक शिक्षा दस कक्षामै रोकिएको थियो । 

सुरक्षित भविष्यको खोजीमा उनी भारत पुगे निर्माण मजदुरको रुपमा काम गरे । तर, एउटा मार्सल आट्र्स जिममा प्रशिक्षण भइरको देखेपछि उनको जीवनको दिशा नै बदलियो । र, त्यहीँबाट सुरु भयो उनको एमएमए यात्रा । सन् २०१९ मा उनी भारतको राष्ट्रिय एमेच्योर च्याम्पियन बने, तर नेपाली राहदानीका कारण अन्तर्राष्ट्रिय मञ्चमा अवरोध झेले । 

तर, उनको जोशले हार मानेन । भारतको झन्डा बोकेर खेल्ने प्रस्तावलाई उनले सिधै नकारिदिए । एक भारतीय प्रशिक्षकको सुझावमा रविन्द्र नेपाल फर्किए । काठमाडौंको झम्सीखेलस्थित पम्प जिममा दिविज पिया लामालाई भेटे । नेपाल वारियर्स च्याम्पियनसिप एनडब्लुसीका संस्थापक दिविजले रविन्द्रमा सम्भावना देखे र बिनासर्त प्रशिक्षण, बसोबास र खानपानको व्यवस्था गरे ।

२७ वर्षीय रविन्द्रको यो विजय रिङभित्रको लडाइँ मात्र थिएन, विश्वास, समर्पण र सम्बन्धको प्रतिफल थियो । दिविजको पर्दा पछाडिको लगानी र रविन्द्रको अथक मिहिनेतले नेपाली एमएमएलाई विश्वमञ्चमा स्थापित गरेको छ । आज रविन्द्र ढाँट नेपाली युवाका लागि सम्भावना र प्रेरणाको प्रतीक बनेका छन् । आशा गरौं रविन्द्रले यूएफसीमा ग्राउन्ड एन्ड पाउन्ड गर्ने दिन चाँडै आउने छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।