
काठमाडौं । फिफा विश्वकप २०२६ को लहरले विश्व फुटबललाई गाँजिरहँदा, 'टोटल फुटबल' को प्रवर्तक नेदरल्यान्ड्स फेरि एक पटक विश्वमञ्चमा आफ्नो जादु देखाउन तयार छ ।
तीन पटकको उपविजेता डच टोली यसपटक उत्तर अमेरिकाको भूमिमा आफ्नो पहिलो स्वर्ण पदकको खोजीमा छ । आजको विश्वकप विशेषमा नेदरल्यान्ड्सको चर्चा ।
नेदरल्यान्ड्सका अविस्मरणीय विश्वकप क्षणहरू सधैं फुटबल प्रेमीहरूको मानसपटलमा ताजा रहन्छन् । सन् १९७४ मा योहान क्रुफको 'टोटल फुटबल' होस् वा २०१० मा स्पेनविरुद्धको त्यो तनावपूर्ण फाइनल, डच फुटबलले विश्वलाई सधैं रोमाञ्चित बनाएको छ ।
नेदरल्यान्ड्सको विश्वकप इतिहास गौरवपूर्ण भए पनि केही अधुरो जस्तो लाग्छ । टोलीले सन् १९७४, १९७८ र २०१० मा फाइनलसम्मको यात्रा तय गरे पनि उपविजेतामै चित्त बुझाउनु परेको थियो । यो नेदरल्यान्ड्सको १२औं विश्वकप यात्रा हुनेछ, जहाँ टोलीले आफ्नो पुरानो घाउमा मलम लगाउने प्रयास गर्नेछ ।
नेदरल्यान्ड्सले २०२६ विश्वकपको लागि कसरी छनोट भयो भन्ने कुरा रोचक छ । रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको यो टोली युएफा छनोटको समूह 'जी' मा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । छनोट चरणमा टोलीले माल्टालाई ८-०, फिनल्यान्डलाई ४-० र लिथुआनियालाई ४-० को अन्तरले पराजित गर्दै आफ्नो प्रभूत्व कायम राखेको थियो ।
पछिल्लो पटक सन् २०२२ को कतार विश्वकपमा नेदरल्यान्ड्सले सानदार प्रदर्शन गरेको थियो । लुई भान गालको नेतृत्वमा टोली क्वार्टरफाइनलसम्म पुगेको थियो, जहाँ विजेता अर्जेन्टिनाविरुद्ध दुई गोलले पछि परेको अवस्थामा अविश्वसनीय पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा हार बेहोर्नु परेको थियो ।
यस पटकको टोलीमा अनुभवी र युवा खेलाडीहरूको उत्कृष्ट मिश्रण छ । भर्जिल भान डाइकको कप्तानीमा रहेको रक्षापङ्क्तिमा नेथन आके र मिकी भान डी भेन जस्ता भरपर्दा खेलाडी छन् । मिडफिल्डमा फ्रेन्की डी जोङ र टिजानी रेइन्डर्सले खेल नियन्त्रण गर्नेछन् ।
आक्रमणको मुख्य जिम्मा टोलीका सर्वाधिक गोलकर्ता मेम्फिस डिपे र उत्कृष्ट लयमा रहेका डोनियल मालेनमा हुनेछ, जसले रोमाका लागि यो सिजन १८ खेलमा १४ गोल गरिसकेका छन् । त्यस्तै, वेस्ट ह्यामबाट खेल्ने युवा प्रतिभा क्रिसेन्सियो समरभिलले यसै विश्वकपबाट आफ्नो डेब्यू गर्न सक्छन् ।
यद्यपि, नेदरल्यान्ड्सका लागि चोटको खबरले भने चिन्ता थपेको छ । टोलीका मुख्य मिडफिल्डर जाभी सिमोन्स घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । त्यस्तै, डिफेन्डर म्याथिस डी लिटले पनि शल्यक्रियाका कारण यो प्रतियोगिता गुमाउनेछन् ।
२०२६ विश्वकपमा नेदरल्यान्ड्स समूह 'एफ' मा छ, जहाँ उसले जापान, स्वीडेन र ट्युनिसियाको सामना गर्नेछ । टोलीले आफ्नो पहिलो खेल जुन १४ मा जापानविरुद्ध ड्यालसमा खेल्नेछ । दोस्रो खेलमा डच टोलीले ह्युस्टनमा स्वीडेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
आफ्नो समूह चरणको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध कान्सास सिटीमा खेल्नेछ । के 'ओरेन्ज' टोलीले तीन पटकको फाइनल हारको सिलसिला यसपटक तोड्दै इतिहास रच्न सक्ला त ?