
काठमाडौं । यूएईमा सम्पन्न आईसीसी विश्वक लिग टू अन्तर्गत यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपाल जितविहिन बनेको छ ।
बुधबार सम्पन्न सिरिजको अन्तिम खेलमा घरेलु टोली यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । आईसीसी एकेडेमी ग्राउण्डमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रनको योगफल तयार पारेको थियो ।
खराब सुरूवात गरेको नेपालले ओपनर कुशल भुर्तेललाई २ रनमा गुमाएको छ । उनी जाहिद अलिको बलमा कट बिहाइन्ड भएका थिए । दोस्रो विकेटका लागि भीम सार्की र आसिफ शेखले ७४ रनको साझेदारी गरे । आसिफ ३४ रनमा रनआउट भए । भीमले ४८ रनको योगदान दिए । कप्तान रोहित पौडेलले २ रन बनाउँदै ओडीआईमा २ हजार रन पुरा गरे पनि इनिङ्सलाई त्यसभन्दा अघि बढाउन सकेनन् । भीम र रोहितलाई ध्रुव परासरले क्याच आउट गराएका थिए ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटरसमेत हुन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी ३७ रनमा रनआउट भए । ३० रन बनाएका आरिफ शेख, जुनेद शिद्दकीको बलमा आउट भए । कुशल मल्लले ४५ रनको योगदान दिए । उनले एक वर्षपछि ओडीआई क्रिकेटमा कमब्याक गरेका थिए । उनले यसअघि अन्तिम पटक २०२४ नोभेम्बरमा अमेरिकाविरूद्ध ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
सन्दीप लामीछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे । यूएईका लागि शिद्दकी, ध्रुव र मोहम्मद जवाहदुल्लाहले समान २-२ विकेट हात पारे । यससँगै नेपालको लिग २ को शीर्ष ४ मा रहँदै सिधै विश्वकप छनोट खेल्ने सम्भावना न्यून बनेको छ भने नेपाललाई एकदिवसीय मान्यता जोगाउन पनि कठिन बनेको छ ।
जवाफमा यूएईले २ सय ४० रनको लक्ष्य ५ बल बाँकी रहँदै ६ विकेट गुमाएर पुरा गर्यो । कप्तान आलिसान सराफु १८ रनमा आउट भए पनि तेस्रो विकेटका लागि मोहम्मद वासीम र मोहम्मद शाहदादले १ सय ४७ रनको सानदार शतकीय साझेदारी गरेपछि यूएई खेलमा हाबी भएको थियो । वासिम ७६ र शाहदाद ९६ रनमा आउट भए ।
नेपालका लागि करण केशीले ३ तथा नन्दन यादव, ललित र सन्दीपले समान १-१ विकेट लिए । यस त्रिकोणात्मक सिरिजमा लिग टूको शीर्ष स्थानमा रहेको अमेरिकाले शत प्रतिशत नतिजा हात पार्दा यूएईले नेपालविरूद्धका दुबै खेल जित्यो भने अमेरिकासँग हारको सामना गर्यो । नेपालले जितविहिन भयो । लिग 'टू'मा अमेरिकाको २४ खेलमा ३६ अंक छ भने नेपाल २० खेलबाट १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा १० अंक जोडेको यूएई पुछारमा छ ।