
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभी) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ अर्थात् (नोभेम्बर १२ देखि १५) सम्म पुनः सञ्चालन हुने भएको छ।
यस सम्बन्धमा 'ईडब्लूभी'लाई नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ। लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ । बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ भने संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने तयारी छ।
लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए। अप्रत्याशित चुनौतीहरू सामना गर्दै 'ईडब्लूभी'ले दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग छ। यस लिगको उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन र नेपालको खेल समुदायको सुदृढीकरण नै हो।
नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार रहेकाे बताइएकाे छ।