रोल्पा जिप दुर्घटनाले लियाे सिङ्गो परिवारकाे ज्यान, रूँदै छ रूकुमकोट

वैशाख १८, २०८३ |महेश केसी
रोल्पा जिप दुर्घटनाले लियाे सिङ्गो परिवारकाे ज्यान, रूँदै छ रूकुमकोट

रूकुम पूर्व । रूकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा बिहीबार दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा एकै परिवारका १४ जना रहेका छन् । 

यसकारण जिल्ला सदरमुकाम रूकुमकोट यतिबेला गहिरो शोकमा डुबेको छ । यही वैशाख १७ गते बिहीबारको दिन यस भेगको पवित्र तिर्थस्थल रोल्पाको जलजलास्थित बराहको पूजा गर्न रूकुम पूर्वबाट दर्शनार्थी लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा २० जनाको ज्यान गयो । 

ज्यान गुमाउनेहरू मध्ये १४ जना त एकै परिवारका परे । यसकारण यतिबेला रूकुमकोट गहिरो शोकमा डुबेको छ । प्रियजनको मृत्युको खबर परिवारसम्म पुग्दा कसैका आाखा ओभाना छैनन्। पिर र पिडाको व्याख्या गर्ने कुनै शब्द छैन । 

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार दुर्घटनामा परी सिस्ने-५ टाकुरा निवासी गोर्ख वीसी र उनकी आमा तिलकुमारी बुढाथोकी, भाउजु युभा बीसी र उनका छोरा दिव्यानको ज्यान गयो भने गोर्खकी कान्छी आमा ओमकुमारी बुढाथोकी अनि उनकी छोरी सृजना र छोरा सुदीपको पनि ज्यान गएको छ ।

युभाकी आमा घोराही-१५ रतनपुर बस्ने द्रोपदा जिसी, बुबा यमबहादुर, बहिनी एलिसा र भाउजु तिला बिष्ट जिसीले पनि यही घटनामा परेर ज्यान गुमाए । साथै एलिसाका छोरा संयोग र तिलाकी छोरी जेनिसा र छोरा जेनिसका साथै उनीहरूकै आफन्त पर्ने घोराही-१३ की धनमाया बिष्टले ज्यान गुमाइन्।

पारिवारिक स्रोतका अनुसार उनका युभाका श्रीमान दीपक केही वर्षदेखि अमेरिकामा थिए । र, उनी आफ्ना छोरासहित श्रीमानलाई भेट्न अमेरिका जाने तयारीमा थिइन् । यही वैशाख २८ गते उनको नेपालबाट अमेरिका जाने टिकट समेत पक्का भैसकेको थियो । 

अमेरिका जानुअघि उनीहरू जलजला बराहको दर्शन गर्न चाहन्थे । तर, भैदियो यस्तो..

यो दुर्घटनामा परी ज्यान गुमाउने अन्य पाँच जनामध्ये दाङ शान्तिनगर घर भई हाल सिस्ने-५ मा बस्ने सवारी चालक बेदु कामी र उनकी सासुआमा सिस्ने-५ की मिना विकका साथै सिस्ने -५ की लक्ष्मी शाह र रूक्मिना बस्नेत एवं भुमे गाउँपालिका-५ का टेक प्रसाद बुढा रहेका छन् । 

चालकसहित जम्मा १२ जनाको मात्रै क्षमता भएको गाडीले २१ जना यात्रु बोकेकाले यसको सरासर कारण ओभर लोड नै देखिन्छ । बिहीबार अपराह्न करिब साढे २ बजेतिर दुर्घटना भएपछि शुक्रबार दिउँसोसम्म घटनास्थालबाट सबै शवहरू निकालेर थबाङ अस्पतालमा ल्याइ सनाखतको काम सकेपछि ११ वटा शवलाई रूकुम पूर्व जिल्ला अस्पतालमा ल्याइ पोस्टमाटम गर्नेगरी काम थालियो भने बाँकी दाङका ९ वटा शवको पोस्टमाटम उतै गर्नेगरी पठाइयो ।

जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको ज्यान गए पनि एकजना भने छतबाट हाम फालेर बाँच्न सफल भएका थिए । उनकी आमासंगै जिप चालक रहेको उनको भने ज्यान गयो । गृह मन्त्रालयले यो दुर्घटनाको छानबिन गर्न बिहीबार सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

आज रातभरिमा जिल्ला अस्पतालमा शवहरूको पोस्टमाटम सकेर भोलि शनिबार आफन्तको जिम्मा लगाउने भनिएको छ ।

सम्बन्धित समाचार :

जलजलामा जिप दुर्घटना : २० जनाकै पहिचान खुल्यो

रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १५ जनाको मृत्यु


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।