
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपाल र ओमानबीचको खेल जारी छ ।
टीयू क्रिकेट मैदानमा ओमानले नेपालसामू तीन सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ५ रन बनाएको थियो। ब्याटिङमा सानदार प्रदर्शन गरेको ओमानका कप्तान जतिन्दर सिंहले शतक पुरा गरे।
पहिलो विकेटका लागि जतिन्दर र आशिष ओडेडाराले ८० रनको साझेदारी गरे । सन्दीप लामिछानेले २३ रन बनाएका आशिष ओडेडारालाई आउट गर्दै साझेदारी तोडेका हुन् । १ रन बनाएका नदीम खान दिपेन्द्र सिंह ऐरीको सिकार भए । चौथो विकेटका लागि जतिन्दर र हम्माद मिर्जाबीच ८१ रनको अर्को अर्धशतकीय साझेदारी भयो ।
दिपेन्द्रले ३० रन बनाएका मिर्जालाई क्याचआउट गराउँदै यो साझेदारी तोडेका थिए । ओमानका कप्तान जतिन्दरले ७३ बलमा शतक पुरा गरे । ओडीआईमा उनको यो पाँचौं र नेपालवरूद्ध दोस्रो शतक हो । उनले ९६ बलमा १५ चौका र ५ छक्कासहित एक सय ३० रनको शतकीय योगदान दिए ।
ओडीआई क्रिकेटमा उनको यो हालसम्मकै व्यक्तिगत उच्च स्कोर हो । ३५ रन बनाएका आर्यन बिष्टलाई सन्दिप लामिछानेले बोल्ड गरे । जितेन रामानन्दीले एक सयको स्ट्राइक रेटमा ४३ रन बनाए भने विनायक शुक्लाले २३ रनको इनिङ्स खेले। सोमपालले नौ ओभरमा चार विकेट लिँदा सन्दीप र दिपेन्द्रको नाममा दुई-दुई विकेट लिए।
बुधबारको खेलमा नेपालले एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्सन झालाई अवसर दिइएको छ ।