टी-२० विश्वकप २०२६ नजिकिँदै : नयाँ टिम, नयाँ जोश र नेपालको ऐतिहासिक सहभागिता

कार्तिक ८, २०८२ |फायेज होदा
टी-२० विश्वकप २०२६ नजिकिँदै : नयाँ टिम, नयाँ जोश र नेपालको ऐतिहासिक सहभागिता

काठमाडौं । दर्शकका आधारमा विश्वकै दोस्रो ठूलो खेल मानिएको क्रिकेटको टी-२० विश्वकप नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक खेल्न लागेको छ । 

नयाँ देशहरूको आगमन, क्रिकेटको बढ्दो क्रेज, टी-२० फर्म्याटमा बढ्दो प्रतिस्पर्धा र बलै पिच्छेको अप्रत्यासित नतिजाले छोटो फर्म्याटको क्रिकेटलाई समर्थकले रूचाएका छन् । आगामी फेब्रुअरी, मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपलाई लिएर नेपाली मात्रै होइन, विश्वका धेरै समर्थक उत्साही हुन्छन् । आज हामी यही विश्वकपको चर्चा गर्नेछौं ।

सन् २०२४ को टी-२० संस्करण जस्तै, २०२६ को टी-२० विश्वकपमा पनि ५५ वटा खेल हुनेछन् । भारत र श्रीलंकामा हुने विश्वकप यसअघिकै ढाँचामा हुनेछ । यो प्रतियोगितामा बनाइने चार वटा समूहमा पाँच-पाँच टिम रहने छन् । 

त्यसपछि उत्कृष्ट आठ टिमबीच 'सुपर एट' चरण खेलिनेछ । अनि सेमिफाइनल र फाइनल हुनेछ । नेपालले टी-२० विश्वकपमा सहभागिता जनाउँदा दुवैपटक टिम संख्या बढाइएको थियो । सन् २०१४ मा पहिलोपटक १६ टोली सहभागी भएका बेला नेपालले विश्वकप खेलेको थियो भने २०२४ मा २० टोली सहभागि भएपछि दोस्रो पटक छनोट भएको थियो ।

विश्वकपमा सहभागि हुने २० टोलीमध्ये १२ टोलीले सिधै विश्वकपमा स्थान बनाए । जसमा भारत र श्रीलंका आयोजक राष्ट्रका रूपमा छनोट भएका हुन् । पछिल्लो विश्वकपको सुपर एट मा पुगेका ७ टोली तथा आईसीसीको टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा ३ टोली छनोट भएका थिए । 

यसरी छनोट हुनेमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान छन् । अमेरिका यसरी छनोट हुने एक मात्र असोसिएट टिम हो । बाँकी ८ टोली भने क्षेत्रीय छनोटबाट विश्व मञ्चमा आएका हुन् । क्यानडा अमेरिकी क्षेत्रबाट, इटाली र नेदरल्यान्ड्स युरोपबाट, नामिबिया र जिम्बावे अफ्रिकाबाट छनोट भएका हुन् ।

यो पटकको छनोट प्रक्रियामा आईसीसीले एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्रलाई संयुक्तरूपमा राखी तीन स्थान उपलब्ध गराएको थियो । नेपाल, ओमान र यूएईले यो क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेका हुन् ।

सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले त्यसपछि १० वर्षसम्म विश्वकप छनोटमै यात्रा समाप्त गर्‍यो । तर २०२४ को विश्वकपपछि २०२६ को विश्वस्तरिय प्रतियोगितामा नेपालले आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालले एसिया तथा ईस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा अपराजित रहँदै विश्वकपको टिकट हात पारेको हो ।

नेपालको यो सफलता केवल विश्वकपको छनोट मात्र होइन, नेपाली क्रिकेटको निरन्तर प्रगतिको संकेत हो । अब टिम नेपालको लक्ष्य भारत-श्रीलंकामा आयोजना हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हुनेछ । यो विश्वकपमा नेपालको खेल भारतमा भएमा धेरै नेपाली समर्थकले विश्वकप हेर्ने विश्वास गरिएको छ । यसले विश्व मञ्चमा नेपाली समर्थकको उत्साहलाई पनि प्रकट गर्ने सम्भावना बढ्नेछ ।


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्