
काठमाडौं । २०औं एसियाली खेलकुदका लागि नेपाली लन टेनिस टिमले अब एक हप्ताको अभ्यास घरेलु मैदानमा गर्नेछ।
त्यसपछि जापान जाने तयारीमा रहेको नेपाली टिमको लक्ष्य विगतको भन्दा राम्रो प्रदर्शन गर्ने हो । धेरै खेलाडी सहभागी बन्दा प्रतिस्पर्धाको लामो दुरी पार गर्नुपर्ने भएका कारण एसियाडमा टेनिस खेलाडीले आफूलाई त्यही अनुसार तयारी गरिरहेका छन्।
महिलातर्फ भने लन टेनिसमा अहिले पुस्तान्तरण भइरहेको छ । सहभागी दुवै खेलाडी भर्खरै मात्रै सिनियर टिममा आएका छन् । उनीहरुको लक्ष्य विम्बल्डनसम्म पुग्ने भएका कारण सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास छ । १० कक्षामा पढ्दै गरेकी १६ वर्षीय स्वस्तिका विष्ट एसियाली खेलकुदमा छनोट हुँदा परिवार, विद्यालय र साथीहरु सबै खुसी छन्।

तर, उनलाई अभ्याससँगै विद्यालयको पढाइलाई पनि निरन्तरता दिन सहज छैन । त्यसैले अभ्यासपछि खाना खाएर आराम गर्नुपर्ने समय बचाएर पढ्ने गरेकी छन्।
नेपाली टिममा प्रदिप खड्का, निसान श्रेष्ठ, शिवाली गुरुङ, स्वस्तिका विष्ट, अभिषेक बास्तोला सहभागी छन्। एसियाडमा नेपालले पुरुषतर्फ सिंगल्स र डबल्स तथा महिलातर्फ एकल र युगल तथा मिक्स्ड डबल्स गरी पाँच विधामा प्रतिस्पर्धा गर्नेछ।

अहिले नेपालमा तीन जनाले सँगै अभ्यास गरिहेका छन् भने शिवाली गुरुङ र अभिषेकले व्यावसायिक प्रतियोगितापछि अन्तिम समयमा टिम जोइन गर्नेछन्। अभिषेकले एटीपी टूर खेलेर टिमको आत्मविश्वास बढेको खेलाडी बताउँछन्।
टेनिस संघले पनि खेलाडीलाई एक्स्पोजरका लागि अवसर दिने गरेको छैन। उसँग प्रतियोगिताका लागि व्यवस्थित क्यालेन्डरसमेत छैन । न घरेलु प्रतियोगिता नै पर्याप्त छन्, जसले गर्दा नेपाली टेनिसको प्रतिस्पर्धा पदकभन्दा टाढा रहने गरेको छ।