काठमाडौं । एसियाली खेलकुदका २२ प्रतिस्पर्धामध्ये सफ्ट टेनिस पनि एक महत्वपूर्ण खेल हो।
सन् २०१४ यता एसयाली खेलकुदमा नराखिएको यो खेललाई जापानमा हुने एसियाडमा भने सहभागी गराइएको छ। मेडलको सम्भावना भएको खेलका रुपमा रहेको यो खेलको तयारी कस्तो भइरहेको छ त ?
नेपालबाट महिलातर्फ एक र पुरुषतर्फ तीन खेलाडी सहभागी छन्। सफ्ट टेनिसको एक टिममा तीन खेलाडी सहभागी हुनुपर्ने भए पनि राष्ट्रिय खेलकुद परिषद्ले जम्मा चार जना खेलाडी मात्रै सहभागी गराएको छ। यसले गर्दा नेपाललाई पहिलो चरणकै खेलमा दबाब हुनेछ।
नेपालले पुरुष र महिला एकल, पुरुष डबल मिक्स इभेन्ट र पुरुष टिममा प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मको तयारी राम्रो रहेको कारण मेडलकै लागि प्रतिस्पर्धा गर्ने खेलाडी बताउँछन्। त्यसमाथि सफ्ट टेनिसको सुरुआत भएको देश नै जापान भएको कारण त्यहीँ गएर खेल्नुको विषेश महत्व हुने खेलाडीको बुझाइ छ।
नेपालले सन् १९९० को एसियाडबाट सफ्ट टेनिसमा सहभागीता जनाउन थालेको हो। नेट गेम्सहरुमध्ये सबैभन्दा राम्रो प्रदर्शन गर्ने यो खेलले सन् १९९३ को विश्व च्याम्पियनसिपमा काश्य जितेको थियो। भने १९९४ को एसियाडको पनि क्वार्टरफाइनल पुगेको थियो।
सन् २०१० र २०१४ मा समेत यो खेलले राम्रो प्रदर्शन गरे पनि त्यसयताका दुई एसियाडमा नेपाल सहभागी भएन । अहिलेको पुनरागमनले नेपाली टिममा नयाँ आशा जगाएको छ ।