चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ कार्तिक २४ र २५ गते भरतपुरमा हुने

कार्तिक ५, २०८२ |राजु चौधरी
चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ कार्तिक २४ र २५ गते भरतपुरमा हुने

चितवन । नेपाल प्रिमियर लिग फ्रेन्चाईज टिम चितवन राइनोजले युवा र स्थानीय खेलाडीलाई छनोट गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने भएको छ ।

राइनोजले एनपीएल ट्रफी टुरको अवसर पारेर सौराहाबाट ‘ट्यालेन्ट हन्ट’को मिति घोषणा समेत गरेको छ । राइनोजका अनुसार यही कार्तिक २४ र २५ (नोभेम्बर १० र ११) गते भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरिनेछ ।

चितवनको क्रिकेटलाई थप बलियो बनाउन राइनोजले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गरिएको निर्देशक प्रताप देवकोटाले जानकारी दिए । यस ‘ट्यालेन्ट हन्ट’बाट चितवनका प्रतिभावान युवा खेलाडीहरूलाई छनोट गरी व्यावसायिक क्रिकेटमा प्रवेशको अवसर दिइने राइनोजले जनाएको छ ।

‘ट्यालेन्ट हन्ट’मा भाग लिन चाहने खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि राइनोजले अनलाइन आवेदन खुला गरी सकेको जनाएको छ । ट्यालेन्ट हन्टको स्थान भने छनोट गर्न बाँकी छ ।पहिलो सिजनमा चितवन मेडिकल कलेज कैलाशनगरमा निर्माण गरिएको प्राक्टिस नेटमा ट्यालेन्ट हन्ट गरिएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।