काठमाडौं । नेपाल कबड्डी लिग-एनकेएलमाको दोस्रो सिजनको लागि खुला गरिएको ड्राफ्टमा ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएका छन्।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले गत बिहीबार सूचना गरी गरेर खेलाडी दर्ताबारे जानकारी दिएको थियाे । पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए। तर पहिलो सिजनका लागि खुला गरिएको खेलाडी दर्ता समयावधि छोटो भएको भन्दै खेलाडीले गुनासो गरेका थिए।
अहिले एनकेएलको आकर्षण बढेको प्रमुख अमितकुमार बेगानीले बताएका छन्। दोस्रो सिजनका लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक एक सय ५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले ८४ खेलाडी अनुबन्ध गरेका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो । यो सिजनका लागि बिदेशी खेलाडीकोसमेत आकर्षण बढेको आयोजकले बताएको छ। दोस्रो सिजनको ड्राफ्टमा ४० देखि ५० जनासम्म बिदेशी खेलाडी लिने आयोजक बताउँछन।
पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए । विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो सिजनको फाइनलमा काठमाडौंलाई ४३-४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।
दोस्रो सिजनको ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने आयोजकले बताएको छ ।