सुपर सिक्समा आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुपर सिक्समा आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपालले, आइसीसी टि–ट्वान्टी विश्वकप छनौट सुपर सिक्सको आफ्नो दोसो खेलमा आज कतारसंग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जीत हात पारे नेपालले अर्को वर्ष भारत र श्रीलङकामा हुने विश्वकपमा लगभग स्थान निश्चित गर्नेछ ।

ओमानको मस्कट स्थित अल अमेरत क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित छ । सुपर सिक्समा नेपालको चार अंक छ । 

यसअघि हिजो भएको खेलमा नेपालले युएइ माथि १ रनको रोमान्चक जीत हात पारेको थियो । १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले युएइलाइ १ सय ३९ रनमा रोकेको थियो । अल अमेरतमा टि–ट्वान्टीमा नेपालले युएइलाइ पहिलो पटक पराजित गरेको हो । यसअघि सन २०२२ को विश्वकप छनोट सेमीफाइनलमा यहि मैदानमा हार बेहोरेपछि नेपाल विश्वकप पुग्न असफल भएको थियो । 

एसीसी मेन्ज प्रिमियर कपको सेमीफाइनलमा पनि युएइले नेपाललाइ स्तब्ध पारेको थियो । नेपालको जीतमा दिपेन्द्र सिंह ऐरीको प्रदर्शन महत्वपुर्ण रह्यो । गुल्सन झाले पनि नेपालको प्रत्येक खेलमा प्रभाव पारिहरहेका छन् । बलिङ र फिल्डिङमा उत्कृष्ट देखिएको नेपालले ब्याटिङमा भने अझै क्षमता अनुसार खेल्न सकिरहेको छैन् । कतार संगको खेल नेपालका लागि ब्याटिङमा पुनरागमन गर्ने अवसर पनि हो । 

कतारले सुपर सिक्सको आफ्नो पहिलो खेलमा ओमान संग ३४ रनको हार बेहोरेको थियो । १ सय ७३ रनको लक्ष्य पछ्याएको कतार १ सय ३८ रनमा समेटिएको थियो । विश्वकप छनौट अघि भएको वार्मअप म्याचमा नेपालले कतारलाइ हराएको थियो । 

आज हुने पहिलो खेलमा ओमान र युएइ आमने सामने हुनेछ । यो खेल सवा ४ बजे सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.