नेपाली फुटबलमा पारदर्शीता र सुशासनको माग गर्दै समर्थकहरुद्वारा एन्फा कम्प्लेक्स अगाडि प्रदर्शन

शीर्ष डिभिजन लिग गर्न दबाब / प्रदर्शनपछि क्लबहरुसँगको बैठक स्थगित
आश्विन २६, २०८२ |खेल ब्युरो
नेपाली फुटबलमा पारदर्शीता र सुशासनको माग गर्दै समर्थकहरुद्वारा एन्फा कम्प्लेक्स अगाडि प्रदर्शन

काठमाडौं । नेपाली फुटबलमा पारदर्शीता र सुशासनको माग गर्दै फुटबल समर्थकहरुले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ– एन्फा मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । 

प्रदर्शनपछि एन्फाले 'ए' डिभिजन लिगका लागि निर्णायक मानिएको क्लबहरुसँगको बैठक स्थगित गरेको छ । समर्थकहरुले पछिल्लो समय फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शीता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । 

उनीहरुले फुटबल गतिविधि सञ्चालन गर्न दबाब दिने उद्देश्यसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । शीर्ष डिभिजन लिग हुन नसक्दा नेपाली फुटबलको क्रियाकलाप शून्य भएको उनीहरुको भनाइ छ । प्रदर्शन हुने भएपछि एन्फा कम्प्लेसबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । 

आइतबार 'ए' डिभिजन लिग नभएको ८ सय ५४ दिन पुरा भएको छ । नियमित लिग नहुँदा त्यसको प्रत्यक्ष असर खेलाडी र राष्ट्रिय टिममा परेको छ ।