जनकपुर बोल्टसकाे मुख्य प्रशिक्षकमा शिवनाराण चन्द्रपाल नियुक्त

आश्विन २७, २०८२ |खेल ब्युरो
जनकपुर बोल्टसकाे मुख्य प्रशिक्षकमा शिवनाराण चन्द्रपाल नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रन्चाइजी जनकपुर बोल्टसले वेस्ट इन्डिजका लेजेन्ड शिवनाराण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

साविक विजेता बोल्टसले साेमबार विज्ञप्ति जारी गर्दै दोस्रो सिजनका लागि चन्द्रपालसँग सहकार्य गरेको जानकारी दिएको हो । ५१ वर्षीय चन्द्रपाल ब्याटिङका लागि प्रख्यात मानिन्छन् । उनले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ ओडिआइ खेलेका छन् । 

चन्द्रपालले आफ्नो २१ वर्षीय खेलाडी जीवनमा टेस्टमा ११ हजार ८ सय ६७ र ओडिआईमा ८ हजार ७ सय ७८ रन प्रहार गरेका छन् । २२ टी-२० आई खेलेका उनले २ सय ४३ रन जोडेका थिए । बोल्टसले चन्द्रपालसँग दिर्घकालिन सम्झौता गरेको उल्लेख गरेको छ । उनको आगमनले नेपाली प्रशिक्षक टिमलाई स्थयित्व दिने र स्वेदेशी जनशक्तिलाई सिक्ने अवसर मिल्ने बोल्टसको विश्वास छ ।

उनीसँग क्यारेबियन प्रिमियर लिग सीपीएल, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी-२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ । उनले खेलाडीको रूपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए । 

२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए । सोहि वर्ष उनले अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षकको भुमिका पनि निभएका थिए । चन्द्रपालले पुवुदु दशानायकेलाई प्रतिस्थापन गरेका हुन् । 

दशानायकेको प्रशिक्षणमा जनकपुर बोल्टस फाइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो संस्करणको च्यामिपयन बनेको थियो । पुवुदु हाल अमेरिकी राष्ट्रिय पुरुष टिमको प्रशिक्षक छन् । एनपीएलको दोस्रो सिजन मसिर १ गतेदेखि सुरू हुनेछ ।