आईसीसी टी-२० विश्वकप छनोट : कतारमाथि ओमानकाे सहज जित

आश्विन २६, २०८२ |खेल ब्युरो
आईसीसी टी-२० विश्वकप छनोट : कतारमाथि ओमानकाे सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्समा ओमानले कतारमाथि ३४ रनको सहज जित हात पारेको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा कतारले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । ओपनर आशिष ओडेडारा डकआउट हुँदै पभेलियन फर्किएका थिए । 

नदिम खान १२ र हमाद मिर्जा ६ रनमा मैदान बाहिरिएपछि ओमानको इनिङस दबाबमा आएको थियो । तर कप्तान जतिन्दर सिंह, आर्यन दत्त र विनायक शुक्लाले सम्हालिएर ब्याटिङ गरे । जतिन्दरले ४० बलमा ६६ रनको योगदान गरे । आर्यनले ३४ र विनायकले अविजीत ३० रन बनाए । मिर्जा मोहम्मद बेगले चार विकेट लिए । 

जवाफमा कतारले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उसका लागि सारिक मुनिरले सर्वाधिक ३४ रन जोडे । कुनै पनि खेलाडीबीच लामो साझेदारी नहुँदा कतारले हार बेहोरेको हो ।