काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रेन्चाइज टोली विराटनगर किङ्सले दोस्रो सिजनको प्रतियोगिताका लागि पहिलो विदेशी हस्ताक्षरको रुपमा स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मुन्सेलाई अनुबन्धित गरेको छ ।
विराटनगरले शनिबार सामाजिक सञ्जालमार्फत मुन्सेलाई अनुबन्ध गरेको जनाएको हो । ३२ वर्षीय बाँयाहाते ब्याटर मुन्सेले स्कटल्यान्डका लागि ८१ टी-२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३ सय २ रन बनाएका छन् । १ सय २ टी-२० खेल खेलेका मुन्सेको नाममा २६ सय ४८ रन छ ।
उनीसँग विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव छ । विराटनगरले गत सिजन न्युजिल्यान्डका मार्टिन गप्टिललाई टोलीमा समावेश गरेको थियो । पहिलो सिजन खास प्रदर्शन गर्न नसकेको विराटनगरले छैंटौं स्थानमा रहेर लिग समाप्त गरेको थियो । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।