सुपर सिक्समा आज प्रतियोगिताका दुई प्रमुख दावेदार नेपाल र युएई प्रतिस्पर्धा गर्दै

आश्विन २६, २०८२ |सुवास रोकाया
सुपर सिक्समा आज प्रतियोगिताका दुई प्रमुख दावेदार नेपाल र युएई प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एरिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा आज प्रतियोगिताका दुई प्रमुख दावेदार नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन् ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुने छ । यस खेललाई एसोसियट टोलीबिचको एल क्लासिको समेत मानिएको छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेल तीव्र प्रतिस्पर्धा, कौशल र रोमाञ्चले भरिने अपेक्षा गरिएको छ ।

हालै वेस्टइन्डिजलाई हराउँदै युनिटी कप जितेको आत्मविश्वासका साथ नेपाल मैदानमा उत्रिदैछ । कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजन रहेको नेपाली टिमले समूह चरणमा कुवेत र जापानविरुद्ध प्रभावशाली जित दर्ता गरेको थियो । समुह बी को विजेता नेपालका लागी कुशल भुर्तेल, आरिफ शेख र दिपेन्द्र सिंहको ब्याटबाट रन बन्नु आवस्यक छ । रोहित कुशल मल्ल र सन्दिप जोराले क्षमता अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

सन्दीप लामिछानेको स्पिन आक्रमण टोलीको मुख्य हतियार बनेको छ । उनलाई ललित राजवंशी लगायत अन्य पार्टटाइमरहरुले राम्रो साथ दिइरहेका छन् । सोमपाल कामी र नन्दन यादव पनि राम्रो लयमा छन् । गूलसन झा नेपालका लागी म्याच विनर सावित बन्दै आएका छन् । समूह चरणमा गुल्सनले ब्याट र बल दुबैबाट सबै भन्दा महत्वपूर्ण योगदान दिएका थिए । फिल्डिङ र रनिङ विट्युन द विकेट नेपालको बलियो पक्ष हो ।

अर्को तर्फ मुहम्मद वासिमको कप्तानीमा युएई पनि सशक्त रूपमा प्रस्तुत भएको छ । वासिमले हालै एसोसिएट राष्ट्रको पहिलो कप्तानका रूपमा टी-२० मा २ हजार र ओडीआईमा ३ हजार रन पार गर्दै इतिहास रचेका थिए । अलिशान शराफु, बसिल हामिद, आर्यंश शर्माजस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् । समूह ए को विजेताका रुपमा अघि बढेको युएईले कतार र मलेसियालाई परानजित गरेको थियो ।

टी-२० आईमा हाल सम्म यी दुई टोलीबिच १० खेल भएका छन् । दुबै टिमले ५-५ खेल जितेका छन् । सुपर सिक्समा २-२ अंक सहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका नेपाल र युएई यो खेल जित्दै ४ अंक सहित विश्वकप छनोटको यात्रालाई थप सहज बनाउने लक्ष्यमा छन् ।

अल अमेरात स्टेडियममा पौने १२ बजे ओमान र कतारबीचको खेलसँगै सुपर सिक्स चरणको सुरुवात हुने छ । राति पौने ९ बजे जापान र सामोआ आमने सामने हुँदै छन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।