केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

आश्विन २५, २०८२ |खेल ब्युरो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरूषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरूषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो भए । तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ एनीले दुई घन्टा ४५ मिनेट समयसहित सबभन्दा चाँडै दौड पुरा गरिन् । अमेरिका-जर्मनीकी सोन्या मार्टिन (२ः५८ः३० सकेन्ड) दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर (३ः०९ः१३ सकेन्ड) तेस्रो स्थानमा रहे ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन-हाइक पनि राखिएको थियो । जसमा नेपालका डा. आकार शेर्पाली (१ घन्टा ३ मिनेट) पहिलो, अमृत शाही ठकुरी (१ घन्टा ४ मिनेट) दोस्रो र सुजन श्रेष्ठ (१ घन्टा ९ मिनेट) तेस्रो भए । महिला वर्गमा निशा महर्जन (१ घन्टा १० मिनेट) पहिलो, अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (१ घन्टा २९ मिनेट)ले तेस्रो स्थान हासिल गरे ।

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी ११० धावकधाविकाको सहभागिता रहेको थियो । यस सत्रमा केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । 

अब रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा आयोजना हुनेछ । “स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।