काठमाडौं । आईसीसी टी-२० विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा मलेसियाविरुद्ध सहज जित हात पार्दै कतारले सुपर सिक्समा पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
आज सम्पन्न खेलमा कतारले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । ओमान क्रिकेट एकेडेमी टर्फ नम्बर २ मा कतारले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार पारेको थियो । उसका लागि मोहम्मद हफिजले २३ रनको योगदान दिए । सव्रीन मुनीयान्डीले १४ रन बनाए । विरन्दीप सिंहले अविजित ६२ रन बनाए पनि उनले अन्य ब्याटरबाट राम्रो साथ पाउन सकेनन् । उसका ७ ब्याटरले दोहोरो अंकमा रन समेत स्कोर गर्न सकेनन् ।
मलेसियानलाई न्यून स्कोरमा रोक्न मिर्जा मोहम्मद बैजले ४ विकेट लिए । ओवैस अहमदले ३ विकेट लिए ।
जवाफमा कतारले १ सय २४ रनको लक्ष्य १७ बल बाँकी रहँदै केवल २ विकेट गुमाएर पुरा गर्यो । उसका लागि जुबेर अलीले अविजित ६५ रनको अर्धशतकीय योगदान दिए । उनले ४४ बलमा २ चोका र ५ छक्काको मद्दतमा ६५ रनको सानदार इनिङ्स खेलेका हुन् । बैज १९ बलमा २ चौका र ३ छक्का सहित ३५ रनमा नटआउट रहे । मलेसियाका लागि विरन्दीप र खिराज दुर्रानीले समान १-१ विकेट लिए ।
यससँगै कतारले छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावनालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा कतार यूएईसँग ७ विकेटले पराजित भएको थियो । अब समूह एको भोलि हुने अन्तिम खेलमा यूएईले मलेसियालाई पराजित गरे कतार र यूएई अघिल्लो चरणमा प्रवेश गर्ने छन् । यदि मलेसिया विजयी भए तीन वटै टोलीको समान २-२ अंक हुने छ । यस्तो अवस्थामा नेट रन रेटमा अघि हुने २ टोली सुपर सिक्समा पुग्ने छन् ।