आईसीसी महिला विश्वकप : आज इंग्ल्यान्ड र बंगलादेश भिड्दै

आश्विन २१, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकप : आज इंग्ल्यान्ड र बंगलादेश भिड्दै

काठमाडौं । आईसीसी महिला विश्वकपमा म्गलबार चार पटकको च्याम्पियन इंग्ल्यान्ड र बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । 

भारतको गुवाहाटीस्थित बरसापारा क्रिकेट स्टेडियममा खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुबै टोलीबीच महिला एकदिवसीय फर्म्याटमा यो दोस्रो भेट हुनेछ। यसअघि सन् २०२२ को विश्वकपमा इंग्ल्यान्डले बंगलादेशलाई १ सय रनले पराजित गरेको थियो । 

इंग्ल्यान्ड र बंगलादेश दुबैले लिग चरणको आफ्नो पहिलो खेल जित्दै उत्कृष्ट सुरूवात गरेका छन् । बंगलादेशले पाकिस्तानलाई सात विकेटले हराएको थियो भने इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ६९ रनमै अलआउट गर्दै १० विकेटको सानदार जित हात पारेको थियो । एक-एक खेलपछि दुवैसँग २-२ अंक छ । तर रनरेटका आधारमा इंग्ल्यान्ड तेस्रो र बंगलादेश चौथो स्थानमा रहेको छ । 

दुबै टोली लगातार दोस्रो जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा हुने छन् । इंग्ल्यान्डको बलिङ विभाग अहिले निकै सशक्त देखिएको छ । लिंसी स्मिथ, सोफी एक्लेस्टोन र चार्ली डिनको स्पिन ट्रायोले दक्षिण अफ्रिकाविरूद्ध प्रभावशाली प्रदर्शन गरेको थियो । 

बंगलादेशका लागि रूबेया हैदरले अघिल्लो खेलमा पाकिस्तानविरूद्ध अर्धशतक प्रहार गरेकी थिइन् ।