ओली र लेखकविरूद्ध प्रहरीमा जाहेरी, दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाइयाे

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकविरूद्ध प्रहरीमा जाहेरी, दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाइयाे

काठमाडौं । जेन-जी आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध सहिद परिवारले प्रहरीमा जाहेरी दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाएको छ । काठमाडौं प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले कान्तिपुर टिभीसँग कुरा गर्दै यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोगको हुने भएकाले त्यहाँ पठाइएको बताउनुभयो । ‘भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षतिमा जिम्मेवारमाथि कारबाही गर्न भन्दै जाहेरी आएको हो, चार जनाका तर्फबाट आएको जाहेरी न्यायिक आयोगमा पठाएका छौं’, उहाँले भन्नुभयो ।

प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र धेरै व्यक्तिको ज्यान जाने गरी भएको बल प्रयोगको घटना सामूहिक हत्या भन्दै जेन-जी प्रदर्शनकारीहरूले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर हिजै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले दर्ता गर्न मानेको थिएन । 

त्यसपछि जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारले दिने जाहेरी र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा सुरक्षा अधिकारीहरू र सरकारका प्रतिनिधिहरूबीच पटक-पटक छलफल भएको थियो । मंगलबार भने प्रहरीले जाहेरी लिएर दर्ता नगरी गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय न्यायिक आयोगमा पठाएको हो ।

आयोगका सदस्य विज्ञानराज शर्माले प्रहरीले पठाएको जाहेरी आयोगमा प्राप्त भएको जानकारी दिनुभयो । प्राप्त जाहेरीका विषयमा आयोगले भोलि बैठक गरी निर्णय गर्ने भएको छ । आयोगले मंंगलबार जारी गरेको विज्ञप्तिका विषयमा थप प्रष्ट पार्दै शर्माले लुटपाट र आगजनीका घटनाको अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्नेमा जोड दिनुभयो । 

गृह मन्त्रालयले यसअघि भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश आयोगलाई रहेको भन्दै आयोगको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुन बमोजिम गर्ने जनाएको थियो। 

गृहको उक्त वक्तव्यलाई आयोगले नोटिसमा लिएको शर्माको भनाइ छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुनु नपर्ने फेरि स्पष्ट पारेको हो । यसैबीच नेकपा एमाले निकट अनेरास्ववियूले पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संयोजक सुदन गुरूङविरूद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएको छ । 

अनेरास्ववियूले प्रहरी हत्या र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा शाह र गुरुङको संलग्नता रहेको भन्दै जाहेरी दिएको हो । प्रहरीले जाहेरी दर्ता गर्ने या नगर्ने भन्ने निर्णय भोलिसम्म गर्ने भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.