काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्मा नेपालका लागि महिला टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो ब्याटर बनेकी छन् ।
क्वालालाम्पुरस्थित बायुमास ओभलमा मंगलबार सम्पन्न चौथो टी-२० आईमा ४८ रनको अविजित इनिङ्स खेलेकी इन्दूले सुरूवाती १५ रन जोडेसँगै एक हजार टी-२० आई रन पूरा गरेकी हुन् । इन्दूले नेपालका लागि ७७ खेलको ७० इनिङ्समा १ हजार ३३ रन प्रहार गरेकी छन् ।
उनी महिला टी-२० आईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । इन्दूपछि सीता रानामगरले ६३ खेलका ५९ इनिङ्समा ९ सय ६५ रन बनाएकी छन् । रूविना क्षेत्रीले ९ सय ३६ रन प्रहार गरेकी छन् । अलराउण्डर इन्दूले नेपालका लागि ४६ इनिङ्समा बलिङ गर्दै ४० विकेट लिएकी छन् । उनी नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन् ।
इन्दूले ३३ टी-२० आईमा कप्तानी गर्दा नेपालले १४ खेलमा जित र १९ खेलमा हार बेहोरेको छ । इन्दूको कप्तानीमा नेपालले ८ वर्षपछि गत वर्ष महिला एसिया कपमा पुनरागमन गरेको थियो भने पहिलो पटक आईसीसी महिला टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
ग्लोबल छनोट आगामी जनवरीमा नेपालमा आयोजना हुँदैछ ।