मलेसियासँगकाे चौथो खेलमा नेपालकाे जित

आज भएको
आश्विन २१, २०८२ |खेल ब्युरो
मलेसियासँगकाे चौथो खेलमा नेपालकाे जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियालाई एक खेल अगावै पाँच खेलको टी-२० आई सिरिज जित्नबाट रोकेको छ । 

मंगलबार भएको चौथो खेलमा नेपालले घरेलु टिमलाई ६ विकेटले पराजित गर्दै सिरिज २-२को बराबरी गरेको हो । कप्तान इन्दु बर्मा र रूविना क्षेत्रीले उत्कृष्ट साझेदारी गरे । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलसियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । 

नेपाली बलरले पावर प्लेमा नै तीन विकेट लिएर उत्कृष्ट सुरूवात गरेका थिए । पहिलो ओभरको तेस्रो बलमा कविता कुँवरले ओपनर एइना हामिजाह हासिमको विकेट लिइन् । अघिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेकी हासिम आज भने शून्यमा पभेलियन फर्किइन् । अर्की ओपनर वान जुलिया पनि डक आउट भएकी थिइन् । उनको विकेट पूजा महतोले लिएकी हुन् । 

कप्तान विनफ्रेड दुराइसिंगम २ रनमा आउट इभन् । मलेसिया, चार ओभर तीन बलमा टिमको स्कोर २० रन हुँदा तीन विकेटको स्थितिमा थियो । मास एल्सा र माहिराह इज्जाती स्माइलले इनिङस सम्हाले । स्माइलले १८ रन जोडिन् । एल्सा ५३ रनमा अविजित रहिन् । नुर डानियाले पनि अन्तिम समयसम्म क्रिजमा रहँदै १५ रन थपिन् । कविता कुँवरले ३, पूजा र कविता जोशीले एक-एक विकेट लिए ।

जवाफमा नेपालले १७ ओभर तीन बलमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । ओपनर रूवी पोदार ५ रन र सम्झना खड्का ११ रनमा पभेलियन फर्किएका थिए । पूजा ७ रनमा रनआउट भइन् । कविता कुँवरले १६ रन जोडिन् । रूविना र इन्दूले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपालले सिरिजमा पुनरागमन गरेको हो । 

इन्दु ३९ बलमा ४८ र रूविना २३ वलमा २३ रन बनाउँदै अविजित रहे । सुरुवाती व्यक्तिगत १५ रन बनाएसँगै इन्दु महिला टी-२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनिन् । उनले ७७ टी-२० आईको ७० इनिङ्समा १ हजार ३३ रन प्रहार गरेकी छन् । अब पाँचौं तथा अन्तिम खेलले सिरिज विजेताको टुंगो लाग्नेछ । पाँचौं टी-२० आई भोलि हुनेछ ।