बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा जाने पहिरो छल्न संघीय सरकारले बनाउँदै गरेको सुरूङ मार्ग सकिने चरणमा छ। तर, लुम्बिनी प्रदेश सरकारले ७ वर्षअघि सुरू गरेर ४५ करोड रूपैयाँ बढी खर्च गरिसकेको सिद्धबाबाको वैकल्पिक मार्ग बुटवल चरङ्गे झुम्सा सडक भने अहिलेसम्म अलपत्र छ ।
लुम्बिनी प्रदेश सरकारले ७ वर्षअघि सिद्धार्थ राजमार्गको सिद्धबाबामा जाने पहिरोको विकल्पमा बुटवल चरंगे झुम्सा वैकल्पिक सडक निर्माण सुरू गर्याे । तर, सिद्धबाबामा सुरूङ.मार्ग बनेर सकिन लाग्दासम्म पनि वैकल्पिक मार्ग निर्माण सकिएको छैन ।
बुटवलको धागो कारखानाबाट चरंगे हुँदै पाल्पाको झुम्सा जोड्ने यो सडक आर्थिक वर्ष २०७४, ०७५ मा प्रदेश सरकार स्थापनालगत्तै ३ वर्षमा सक्ने लक्ष्यसहित प्राथमिक योजनाका रूपमा अगाडी बढाएको थियो । तर, ७ वर्ष पुग्नलाग्दासम्म वैकल्पिक सडक निर्माण सकिएको छैन ।
रूपन्देही क्षेत्रमा १३ र पाल्पामा साढे ८ गरी साढे २१ किलोमिटर लम्बाइको सडकको अहिलेसम्म ट्रयाक मात्रै खोलिएको छ । ७ मिटर चौडाइको २ लेनको वैकल्पिक मार्गमा अहिलेसम्म करिब ४५ करोड रूपैयाँ खर्च भएको छ । बीच-बीचमा रहेका खहरे खोलामा ४ वटा पूल र ७ वटा कल्वर्ट बनाउनुपरेकाले खर्च बढेको हो ।
बुटवल चरंगे झुम्सा वैकल्पिक सडकको प्रारम्भिक चरणको काममा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्ला वर्षमा प्रदेशबाट समेत आवश्यक बजेट विनियोजन नहुँदा सडक निर्माणलाई तिव्रता दिन नसकेको सडक पूर्वाधार कार्यालयको भनाइ छ ।
चुरे क्षेत्रको पहाड छिचोल्नु पर्ने र पहिरो खसिरहने भएकाले सिद्धबाबाको विकल्पमा खोलिएको सडक पनि उस्तै जोखीमपूर्ण छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खनिनु र प्राथमिकता अनुसार बजेट बिनियोजन नहुँदा ७ वर्ष बित्दासम्म वैकल्पिक सडक अलपत्र परेको हो ।