पाँचकिलोमा बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते

आश्विन २१, २०८२ |कमला पाख्रिन
पाँचकिलोमा बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित जिरी-खाडिचौर सडक खण्डमा मंगलबार बेलुकी बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते भएका छन् । 

रामेछापबाट चरिकोट हुँदै काठमाण्डौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस मंगलबार साँझ करिब ४ बजेर २५ मिनेट जाँदा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडिचौर पुर्‍याएको छ।

प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको र गम्भीर क्षति नभएको बताइएको छ। दुर्घटनाको कारण बस अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ। 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।