काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोट बुधबारदेखि ओमानमा सुरू हुँदै छ ।
प्रतियोगिताको पहिलो दिन ३ खेल हुँदै छन् । दिउँसो पौने १२ बजे सुरू हुने उद्घाटन खेलमा समूह 'बी'मा रहेको घरेलु टोली ओमानले सामोआको सामना गर्दैछ । दिउँसो सवा ४ बजे सुरू हुने दोस्रो खेलमा समूह 'ए'को खेलमा कतार र यूएई प्रतिस्पर्धा गर्ने छन् । दिनको अन्तिम खेलमा राति पौने ९ बजे नेपालले कुवेतसँग खेल्ने छ । यो समूह 'बी'को खेल हो ।
छनोट प्रतियोगितामा नेपाल, ओमान र यूएईलाई मुख्य दावेदार मानिएको छ । प्रतियोगिताको समूह 'ए'मा मलेसिया, कतार र यूएई समूह 'बी'मा नेपाल, कुवेत र जापान तथा समूह 'सी'मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन् ।
जापान ईस्ट एसिया प्यासिफिक 'बी' क्षेत्रको विजेताका रूपमा यस प्रतियोगिताका लागि योग्य भएको टोली हो । सामोआ गत वर्ष घरेलु मैदानमा भएको ईस्ट एसिया प्यासिफिक 'ए' क्षेत्र छनोटको विजेता बन्दै अघि बढेको हो । यो प्रतियोगितामा न्यूजिल्यान्डका पूर्वकप्तान रोस टेलर सामोआबाट खेल्दै छन् ।
मलेसिया र कुवेत एसिया छनोट 'ए' तथा यूएई र कतारले एसिया छनोट 'बी'बाट यस प्रतियोगितामा स्थान बनाएका हुन् । नेपाल, ओमान र पपुवा न्यूगिनीले २०२४ टी-२० विश्वकप खेलेका कारण सिधै आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोट खेल्ने अवसर पाएका हुन् ।
हालसम्म आयोजक भारत र श्रीलंकासहित १७ टोलीले आईसीसी टी-२० विश्वकप २०२६ मा स्थान बनाइ सकेका छन् । सहभागि हुने २० मध्ये अन्तिम ३ टोलीको टुंगो यस प्रतियोगितापछि लाग्ने छ ।